00:00:00
शिक्षा

न्यू इन्भाइरन्मन्ट माविमा जिपिए ४ ल्याउने विद्यार्थीलाई नगद २५ हजारसहित सम्मान 

शुक्रबार असार २०, २०८२/ Friday 07-04-25

प्रकाश पाण्डे । असार २० गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जीपिए ४ ल्याएका न्यू इन्भाइरन्मन्ट माविका छात्र प्रतिक भुषाललाई शुक्रबार विद्यालयले नगद रु २५ हजार सहित सम्मान गरेको छ । सो अवसरमा ए प्लस सहित उत्कृष्ट अंक ल्याउने अन्य विद्यार्थी र तिनका अभिभावक समेतलाई दोसल्ला र मेडल सहित सम्मान गरिएको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिए  ।

तिनपा ५ मणिग्राममा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थी रत्न एवँ अभिभावक सम्मान तथा शैक्षिक अन्तरक्रिया अन्तर्गत आयोजित ३ खम्बे प्यानल डिस्कसनमा विद्यार्थी, शिक्षक र अभिभावक समेतलाई मन्चमा राखेर बृहत छलफल चलाइएको थियो । सहभागीहरुको जिज्ञासा मेटाउँदै उत्तीर्ण विद्यार्थीहरुको तर्फबाट जीपिए ४ ल्याएका छात्र प्रतिक भुषालले बुझेर पढे राम्रो हुने भन्दै भविश्यमा कम्प्युटर इन्जिनियर बन्ने इच्छा रहेको बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सन केन्द्रिय सदस्य तथा सचिवालय सदस्य खेमेन्द्र रानाले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई हेर्ने सरकारको निति सच्चिनु जरुरी रहेको बताए । उनले निजि विद्यालय कै कारण नेपालको शिक्षा क्षेत्रले ठुलो फड्को मारेको दावी समेत गरे । रानाले न्यू इन्भाइरन्मन्ट मावि यसक्षेत्र कै उत्कृष्ट विद्यालय भएको भन्दै आगामी दिनमा थप सफलता हासिल गर्नेमा आफु आशावादी रहेको समेत बताए ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नेत्र वनको अध्यक्षता रहेको कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका सल्लाहकार कृष्ण प्रसाद गौतम, प्रवन्ध निर्देशक हरि प्रसाद न्यौपाने, भीमराज शाही, उमा भुषाल, भुवन रजाली, कला भुषाल, विद्यार्थीहरु प्रतिक भुषाल, सुप्रिया ढकाल, चाहना पाण्डे लगायतले मन्तब्य सहित आफ्ना अनुभव साटासाट गरेका थिए ।

गीत, सँगीत, नृत्य तथा कला प्रस्तुत गरिएको कार्यक्रममा शिक्षक, कर्मचारीसँगै विद्यार्थीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । शिक्षक तुल्सीराम अर्यालले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत भने विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया