00:00:00
स्थानिय

तिलोत्तमाले ल्यायो गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा ,वडानम्वर ६ बाट सुरु

बुधबार माघ ३०, २०८१/ Wednesday 02-12-25

बिन्दु भट्टराई, तिलोत्तमा ३० माघ ।

तिलोत्तमा नगरपालिका गर्भवती र सुत्केरी महिलाका लागि निशुल्क भिडियो  सेवा लिएर सबै वडामा पुग्ने भएको छ । तिलोत्तमा वडा नम्बर ६ बाट गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको हो । मंगलबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले यो सेवाको शुभारम्भ गरेको छ ।

यसै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले भिडियो एक्सरे गर्न नपाएकै कारण ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले कार्यक्रम ल्याईएको बताउनुभयो । प्रमुख खाँडले  तिलोत्तमा नगरपालिकालाई स्वास्थ्य सेवा सम्पन्न नगरका रुपमा बिकास गर्ने गरि रणनीति बनाएको बताउनुभयो । उहाँले तिलोत्तमाको वडा नम्बर १७ र ६ नम्बर वडामा नगर अस्पताल बन्दै गरेको र छिटै काम सम्पन्न गरि संचालन गरिने समेत बताउनुभयो  ।

यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीले गर्भवती तथा सुत्केरीलाई निशुल्क भिडियो एक्सरे सेवाले मातृमृत्युदर न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले अन्य चेकजांचको सुबिधा पाए पनि भिडियो एक्सरे नहुँदा ढुक्क नहुने अवस्थालाई चिर्दै यो सेवाले यस क्षेत्र वरपरका सेवाग्राहीहरुलाई थप सहज हुने बताउनुभयो । 

तिलोत्तमा वडा नम्बर–६ का वडाध्यक्ष तथा आनन्दवन स्वास्थ्य चौकिका व्यवस्थापन समितीका अध्यक्ष गणेश पाठकले स्थानिय स्तरमा भिडियो एक्सरे सेवा नहुँदा बुटवल भैरहवा जानुपर्ने बाध्यता टरेको बताउनुभएको छ । अध्यक्ष पाठकले १७ लाख बराबरको अत्याधुनिक मेसिनबाट एक्सरे हुनेभएकोले ढुक्कले लाभ लिन वडाबासिलाई आग्रह गर्नुभएको छ  ।  

स्वास्थ्य सेवा महंगो हुँदै गर्दा तल्लो तहसम्म सस्तो सुलभ स्वास्थ्य पहुँच पुर्याउनुपर्ने भन्दै  तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले लुम्विनी प्रदेशमा हरेक वर्ष प्रति लाखमा २०७ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाउने गरेको तथ्यांक प्रस्तुत गर्दै यो अवस्था शुन्य गराउने अभियानमा नगरपालिका लागेको बताउनुभएको छ ।  उहाँले गर्भाअवस्थामा ३ सुत्केरी भइसकेपछी १  गरि ४ पटक निशुल्क भिडियो एक्सरे सेवा दिइने जानकारी गराउनुभयो । उहाँले विशेष अवस्थामा भिडियो एक्सरे गर्नु परेमा पनि निशुल्क सेवा दिइने बताउनुभयो । प्रमुख पौडेलले यो सेवा तिलोत्तमाका सम्पुर्ण वडामा पुग्ने समेत बताउनुभयो । 

आनन्दवन स्वास्थ चौकी प्रमुख रामप्रसाद चुदालीले  नगर अस्पतालको चर्चामा रहेको बन्दै गरेको आनन्दवन स्वास्थ्य चौकीलाई छिटै नगरअस्पतालका रुपमा सिघ्र संचालनका लागि नगरपालिकालाई आग्रह गर्नुभएको छ  । 

 तिलोत्तमाका स्वास्थ्य शाखामा कार्यारत छैंठो अधिकृत  रामप्रसाद ढकालले कार्यक्रम संचालनका क्रममा अंगहरुको विकासको विषयमा जानकारी पाउनुपर्ने अधिकार सुनिस्चित गर्न कार्यक्रम फलदायी रहने बताउनुभयो ।  कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, सदस्यहरु, स्थानिय बुद्धिजीवी, महिलाको उपस्थिति रहेको थियो । 

तपाईको प्रतिक्रिया