00:00:00
स्थानिय

लुम्विनी प्रदेशमै सबैभन्दा बढी उद्योग दर्ता रुपन्देहीमा,९३९ फर्निचर उद्योग

बुधबार पौष २४, २०८१/ Wednesday 01-08-25

बिन्दु भट्टराई, तिलोत्तमा २४ पुस ।
गैरकानुनी रुपमा संचालित फर्निचर निर्माण कार्य निरुत्साहित तथा समाधानका लागि भन्दै फर्निचर उद्योग संघ रुपन्देही,बुटवलले ध्यानाकर्षण गराएको छ । रुपन्देहीमा झोले ब्यवसायीका कारण कानुनी रुपमा चलेका फर्निचर ब्यवसायी समस्यामा परेको भन्दै एक अन्तरकृयामार्फत उनीहरुले रुपन्देहीका ६ स्थानीय तहलाई ध्यानाकर्षण गराएका हुन् ।

ब्यवसायीका गुनासो पछि बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले ब्यवसायीका हक हितमा नगरपालिका रहेको दावी गर्दै दर्ता तिलोत्तमामा अनुगमनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आगामी दिनमा छलफल गरेर यो कार्यलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ  ।  

यो वर्ष सबैभन्दा बढी उद्योग दर्ता रुपन्देहीबाट भएका छन् । घरेलु  तथा साना उद्योग महासंघ रुपन्देहीको तथ्याड्ढ अनुसार लुम्विनी प्रदेशमै सबैभन्दा बढी उद्योग दर्ता रुपन्देही जिल्लामा भएको घरेलु तथा साना उद्योग महासंघका प्रमुख नवराज कार्कीले बताउनुभयो । जसमध्ये ९३९ वटा फर्निचर उद्योग दर्ता भएका छन् । उहाँँका अनुसार दर्ता मात्र नभएर बन्द गर्नेको संख्या पनि बढेको छ । गएको मंसिर सम्म १४८ वटा उद्योग बन्द भएको प्रमुख कार्कीको भनाई छ । प्रमुख कार्कीले गैरकानुनी रुपमा दर्ता नभई उद्योग संचालन गर्न नपाईने उल्लेख गर्दै संचालन गरेको पाईएमा औद्योगिक ब्यवसाय प्रवद्र्धन ऐन २०८१ ले लघु उद्यम तथा घरेलु उद्योगका हकमा ३ हजार रुपियाँ सम्म जरिवानाको ब्यवस्था गरेको छ ,भने साना उद्योगको हकमा २५ हजार रुपियाँ सम्म जरिवानाको ब्यवस्था गरिएको समेत जानकारी गराउनुभयो ।

बिदेशबाट आएका काठ बहिष्कार गरेर नेपालको काठ नेपालमै प्रयोग गर्ने नीति निर्माणमा स्थानीय तहले समन्वय गर्नुपर्ने पुर्व अध्यक्ष तथा सल्लाहकार विष्णु श्रेष्ठको भनाई छ । भने संघका बरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले स्थानीय तहले ब्यवसायिक नीति बनाउंन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले समस्यादेखि नीतिसम्म छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

फर्निचर उधोग संघ रुपन्देही बुटवलका अध्यक्ष तेजप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पराजुलीले स्वच्छ प्रतिस्पर्धाबाट फर्निचर उद्योग संचालन गर्ने वातावरणमा सहजीकरण गर्न सरोकारवाला ब्यक्तिहरुलाई आग्रह गर्नुभएको छ । भने तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अनुगमनका नाममा हुल बांधेर जाने प्रवृति बढेको भन्दै छरितो रुपमा सहि तरिकाले अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

रुपन्देहीका ६ उद्योग प्रमुख र राजस्व प्रमुखको उपस्थितिमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका गुणाखर खनाल,राजस्व विभाग प्रमुख रोशन रेग्मि,तिलोत्तमा नगरपालिकाका उद्योग विभाग प्रमुख कृष्ण पाण्डे,देवदहका राजस्व विभाग प्रमुख बिष्णु बस्याल,कन्चनका राजस्व विभाग प्रमुख अनिल थापा लगायतले आफ्ना पालिकाका अवस्था र व्यवस्थाका विषयमा प्रष्ट पार्नुभयो ।

रुपन्देहीका ५० भन्दा बढी फर्निचर ब्यवसायी सहभागी कार्यक्रममा  पुर्व अध्यक्ष सावित्रा टण्डन,सचिव लिलबहादुर कार्की, महासचिव खिमबहादुर खड्का लगायतले जिज्ञासा तथा सुझाव राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया