उद्योग व्यापार संघले २०८२ सालको मेला बुटवल मण्डपमा गर्दै
तिलोत्तमा २०८१ पौष २२
उद्योग व्यापार संघ बुटवलले आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म पाँचौ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव स्थायी प्रदर्शनी स्थल बुटवल मण्डपमा गर्ने भएको छ ।
संघले मेला आयोजना गर्ने तयारी सुरु भैरहेको बताएको छ । अहिलेसम्म रुपन्देहीका तीनवटा संस्थाले बुटवल मण्डपमा आलोपालो मेला गर्दै आएकोमा अव भने चारवटा संस्थाबिच आलोपालो हुने भएको छ । जस अनुसार २०८२ सालमा उद्योग व्यापार संघले मेला गर्ने तय भएको हो ।
संघले सोमबार पत्रकार सम्मेलन गरी बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले हरेक वर्ष आलो पालो मेला सञ्चालन गर्ने बुटवल उपमहानगर सँगको सहमति अनुसार २०८२ साल पुसमा मेला गर्न लागेको जानकारी गराएको छ।
प्रदर्शनीका लागि २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो। पाण्डेले मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकामा गत मंसिर ७ गते निवेदन दर्ता गरिएको र २०८२ साल पुस ५ देखि १८ गते सम्म मेला सञ्चालन गर्ने मिति तय भईसकेपछि जानकारी पत्र पनि उपमहानगरलाई गराइसकेको अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताउनुभयो।
संघका निवर्तमान अध्यक्ष गोविन्द राज गैरेले आलोपालो मेला सञ्चालन गर्ने नियम अनुसार २०७८ सालमा संघले चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको र आगामी २०८२ मा पाँचौ मेला गर्न लागेको बताउनुभयो।
संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०८२ को मेला यसअघिको भन्दा फरक र उत्कृष्ट बनाउन एक वर्ष अघिबाटै तयारी थालेको बताउदै स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरणको मूल नारा सहित संघले मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले जानकारीदिनुभयो।
तपाईको प्रतिक्रिया