मिलनशील आमा समुह भलवारीको नवौं साधारण सभा
समुहको निर्माणाधिन भवन सम्पन्न गर्न वडाले बजेट दिने
प्रकाश पाण्डे । पौष ८ गते । मिलनशील आमा समुह तिलोत्तमा ७ भलवारीको नवौं साधारण सभा सोमबार सम्पन्न भएको छ । भलवारीस्थित सँस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले समुहमा आवद्ध भई समाज परिवर्तनका लागी आमा समुहले गरेको योगदान साच्चिकै गर्व गर्न लायक रहेको बताएका छन । मिलनशील आमा समुह भलवारी फरक र सही ढंगले समाजिक कार्यमा निरन्तर क्रियाशील रहेको उनीहरूले बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा वडा न ७ का अध्यक्ष देवीप्रसाद पंगेनीले आमा समुहले समाज परिवर्तनका लागी गरेका हरेक प्रयास उदाहरणीय रहेको बताउदै त्यसमा आफनो साथ र सर्मथन रहने बताउनुभयो । वहाँले मिलनशिल आमा समुहको अधुरो भवन निर्माणका लागी वडाले वजेट छुटटयाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । विशिष्ट अतिथि तथा समाजसेवी झमबहादुर गुरुङले सामाजिक कार्यमा आमा समुहको योगदान अतुलनीय रहेको बताउनुभयो । वहाँले आगामी दिनमा आमा समुहले अझ नयाँ र नौलो ढंगबाट आफुलाई उभ्याएर समाज सेवामा निरन्तर क्रियाशील रहनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
समुहका अध्यक्ष लिलमाया रानाको अध्यक्षता एवं लता वाग्लेको स्वागत रहेको कार्यक्रममा अध्यक्षद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष यमुना थापाको प्रतिवेदन सर्वसम्मत पारित भएको छ । मिलनशिल आमा समुह भलवारीका सचिव गीतादेवी पुनको सञ्चालनमा रहेको कार्यक्रममा उद्योग ब्यापार संगठन तिलोत्तमाका अध्यक्ष प्रेम जिएम, लेखा संयोजक ज्ञानु श्रीस, समाजसेवीहरु गोबिन्द शर्मा बश्याल, गिरि प्रसाद राना, कृष्ण बहादुर पुन, टिकाराम पुन, नरबहादुर श्रीस, गम्बर सिंह गुरुङ, पुर्ण बहादुर गुरुङ, नरमाया श्रीस, जमुना थापा, पुर्णकला पुन मगर लगायतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा मिलनशील आमा समुह भलवारीलाई विभिन्न माध्यामबाट सहयोग पुर्याउने विभिन्न ब्यक्ति विशेषलाई कार्यक्रमका प्रमुख अतिथि पंगेनी लगायतले सम्मान गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया