तिलोत्तमा नगरस्तरीय मेयरकप क्रिकेटको तयारी तीब्र
पौष १० गतेबाट प्रतियोगिता शुरु हुदै
प्रकाश पाण्डे । पौष २ गते । तिलोत्तमा नगरपालिकामा यही पौष १० गतेदेखि मेयरकप क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरभित्र छरिएर रहेका युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्य सहित तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताबारे जानकारी दिन मँगलबार मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समिति संयोजक लोक पुनले टाईसिट सार्वजनिक गर्दै ग्रासरुटबाटै खेलाडी उच्पादनका लागी प्रगियोगिता सहायक सिद्ध हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले नेपाली क्रिकेटको विकासमा रुपन्देहीको महत्वपूर्ण भुमिका रहेको भन्दै स्थानियस्तरमा हुने खेल गतिविधिले युवाहरुको प्रतिभा प्रस्फुटन गराउन मद्दत पुर्याउने बताउनुभयो । कार्यक्रममा तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीले प्रतियोगिताबारे जानकारी दिदै ड्युज बलबाट टी २० फर्माटमा खेलाइने खेलले नगरभित्रका युवा खेलाडीहरुलाई नयाँ अवसरको सृजना गर्ने बताउनुभयो ।
तिलोत्तमा क्रिकेट विकाश समितिको मुख्य लक्ष्य भनेकै नगरमा क्रिकेटको अवसर सृजना गर्नु रहेको भन्दै पराजुलीले नगरसँगै वडा कार्यालयहरुसँग समेत सहकार्य गरि प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो । वहाँले नगरपालिकाबाट ५ लाख रुपैया बजेट बिनियोजन गरिएको प्रतियोगितामा १० लाख रुपैया खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । नगरका १७ मध्ये १६ वडाहरुको सहभागी रहने प्रतियोगितामा ड्युज बलसँगै किट लगायतका सबैखाले सुरक्षाको प्रवन्ध गरि टर्फ पीचमा खेल खेलाइने छ ।
१० नम्वरस्थित नवजीवन क्लवको खेल मैदानमा यही पौष १० गतेदेखि १७ गतेसम्म प्रगियोगिता सन्चालन गर्न लागिएको पराजुलीको भनाई छ । तिलोत्तमा क्रिकेट विकाश समितिका उपाध्यक्ष कृष्ण भुषालले प्रतियोगिताको उपाधि विजेताले नगद रु ५० हजारसँगै कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु ३० हजारसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताउनुभयो । भुषालले विधागततर्फ म्यान अफ दी म्याच, वेष्ट ब्याटर, वेष्ट बलर, प्लेयर अफ दी सिरिज, लगायतलाई समेत पुरस्कारको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय एम्पायर राम पाण्डे, तिलोत्तमा वडा न ९ का जनप्रतिनिधि कमल रेग्मी, समितिका सचिव मिलन भण्डारी, कोषाध्यक्ष दिपेश पाण्डे लगायतले बोल्दै क्रिकेटको बिकाश र विस्तारमा सरोकारवालाहरुको भूमिका र सहयोग जरुरी रहने बताउनुभयो । मँगलबार नै टाईसिट सार्वजनिक गरिएको प्रतियोगितामा पौष १० गतेको पहिलो खेल वडा नं २ र ३ बिच खेलाइने छ भने सोही दिन दिउँसो वडा न ११ र १७ का बिचमा दोस्रो खेल हुनेछ । यसैबीच आयोजक, जनप्रतिनिधि, पत्रकार, तथा ब्यवसायीहरुका बीचमा समेत प्रतियोगिता आयोजना गरिने तिलोत्तमा क्रिकेट विकाश समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया