३६ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु
उद्धघाटन खेलमा गोर्खा ब्वाइज विजयी
प्रकाश पाण्डे । असोज २ गते । ३६ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । स्वर्गीय खगी गुरुङसेनीको स्मृतिमा झरना स्पोर्ट्स क्लब तिलोत्तमा ६ कुन्जलापुरले प्रतियोगिताको आयोजना गरेको हो । तिलोत्तमा–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गोर्खा ब्वाइज स्र्पोटस क्लव बुटवल विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
गोर्खा ब्वाइजले गत बर्षको साविक विजेता भुपु सैनिक जवाई स्पोर्टिङ क्लब सालघारीलाई २ का विरुद्ध ६ गोलले पराजित गरेको हो । खेल अवधिभर साविक विजेता भुपु सैनिक माथि हावी देखिएको गोर्खा ब्वाइजका लागी जर्सी न १० का खेलाडी निराजन खत्रीले २ गोल गर्दै खेलमा म्यान अफ दि म्याच घोषित हुनुभयो । विहिबार दिउँसो ३ बजे हुने दोस्रो खेलमा नवयुवा खेलकुद तथा सँँस्कृतिक परिवार ठुटीपीपल तथा कपिलवस्तु ११ बीच प्रतिस्पर्धा हुने सचिव मोहनसिह रानाले जानकारी दिनुभयो ।
विभिन्न १६ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ३१ हजार नगद राशी सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले नगद राशी १ लाख ८१ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अन्य २ समुहलाई समेत समान २५ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, हाईस्कोरर, उत्कृष्ट कोच लगायतलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगिता यही असोज १७ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा आयोजक झरना स्पोर्ट्ससँगै १६ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले झरना स्पोर्ट्स क्लबले खेलकुदको बिकासका लागि गरेको प्रयास सह्रायिन रहेको बताउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा समेत यसखाले प्रतियोगिता सहयोगी हुने धारणा राख्नुभयो ।
साथै वहाँले झरना स्पोर्ट्स क्लबले आयोजन गर्ने प्रतियोगिताका लागी नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न सदैव तयार तयार रहेको बताउनुभयो । तिलोत्तमाबाट उदाएका खेलाडीहरुले खेलको माध्यमबाट देश तथा विदेशमा समेत नाम कमाउन सफल भएको भन्दै त्यस्ता खेलाडीको सम्मनमा सहयोग गर्न नगरपालिका सदैव तम्तयार रहेको बताउनुभयो । सो अवसरमा विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका उप प्रमुख जगेश्वरदेवी चौधरी, क्लबका अध्यक्ष धनेन्द्र पौडेल, क्लवका संरक्षक लोक पुन लगायतले मन्तब्य दिनुभएको थियो ।
तपाईको प्रतिक्रिया