00:00:00
स्थानिय

तिलोत्तमामा १सय ७५ एचआईभी संक्रमित,नगरपालिकाद्धारा ५ लाखको सामग्री वितरण 

आइतबार असार ३, २०८१/ Sunday 06-16-24


तिलोत्तमा,२ असार । बिन्दु भट्टराई 
तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाले तिलोत्तमाका एच् आई भी संक्रमितहरुलाई ५ लाख बराबरको सामग्री वितरण गरेको छ । तिलोत्तमा नगरभित्रका करिब ७२ जना एचआईभी संक्रमितमध्ये ७ जना बालबालिकाका लागि पोषणको साथमा शैक्षिक सामग्री, उच्च शिक्षा अध्ययनरत ५ जना विद्याथीहरुका लागि २० हजार नगद छात्रवृत्ति तथा अन्य संक्रमितहरुलाई पोषणसंगै खाद्यान्न वितरण गरेको हो ।  कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडले नगरपालिकाले सवै नगरबासीमा समान ब्यवहार गरेको दाबी गर्नुभयो । खाँडले समाजले पनि एचआईभी संक्रमितलाई सामान्य रुपमा हेर्नुपर्ने र कुनै किसिमको विभेद नगर्न समेत नगरवासीलाई आग्रह गर्नुभएको छ । उहाँले नगरबासीलाई स्वस्थ बनाउनुपर्छ भन्नेमा नागरपालिका सचेत भएकोमा जोड दिनुभयो ।  

त्यस्तै तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले एच आई भी संक्रमितलाई स्वाभिमानपूर्वक  बाँच्न सक्ने गरी नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो । उहाँले एचआईभी संक्रमित बालबालिका र किशोरकिशोरीलाई  शैक्षिक ग्यारेन्टी र अन्य संक्रमितलाई सिप वा आयअर्जनमा जोडने गरी पालिका अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । सेन्चुरीले तिलोत्तमामा  दलित समुदाय बढी एच् आई भी प्रभावित भएको पाईएको भन्दै त्यो समुदायमा के गर्न सकिन्छ भनेर गम्भीर रुपले अगाडि बढ्नुपर्ने खांँचो आँैल्याउनुभयो ।
 
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले एच् आर भी औषधी सेवनले लामो जीवन जिउन सकिने भन्दै नियमित औषधी सेवन गर्न संक्रमितलाई आग्रह गर्नुभयो । पौडेलले एचआईभी संक्रमितहरु लुकेर बाँच्नुपर्ने अवस्था अन्त्य गर्न नगरपालिकाले विस्तारै त्यस्ता किसिमका कार्यकम्र सञ्चालन गर्नेगरी अगाडी बढेकोमा जोड दिनुभयो ।
त्यस्तै तिलोत्तमाका जनस्वास्थ्य निरीक्षक केशब भट्टराईले नियमित ब्यायामसंँगै एआरटी (फिजियोथेरापी) गर्न आग्रह गर्नुभयो । रुपन्देहीमा हाल १७ सय एचआईभी संक्रमित छन्, जसमा तिलोत्तमा नगरपालिकामा मात्र १७५ जना एचआईभी संक्रमित रहेको एचआईभी संक्रमितको राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका संयोजक अर्जुन ज्ञवालीले बताउनुभयो । तिलोत्तमामा गएको तिन वर्षयता ३५ जनाका दरले संक्रमितको संख्या बढेको पाइएको छ । 
 

तपाईको प्रतिक्रिया