00:00:00
स्थानिय

तिलोत्तमा १२मा संघीय ससर्त कृषि विकास कार्यक्रम अन्तर्गत धानको बीउ हस्तान्तरण 

शुक्रबार बैशाख २१, २०८१/ Friday 05-03-24


तिलोत्तमा,२१ बैशाख 
बिन्दु भट्टराई ।
तिलोत्तमा नगरपालिकाको वडा नम्बर १२ ले कृषकलाई धानको बीउ हस्तान्तरण गरेकोे छ । तिलोत्तमा नगरपालिकाको संघीय ससर्त कृषि विकास कार्यक्रम अन्तर्गत रहेर मक्रहर बिउ उत्पादन कृषक समूहलाई ५० प्रतिशत अनुदानमा धानको बिउ हस्तान्तरण गरिएको हो । 

कृषकलाई धानको विउ हस्तान्तरण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले नगरपालिकाबाट कृषिमा उत्पादन नबढाएसम्म मुलुक अगाडि बढ्न नसक्ने बताउनुभयो । खाँडले वडा नं १२ कृषिमा संभावना बोकेको वडा भएकोले यसको प्रवर्द्धनमा पालिका सचेत रहेको बताउनुभयो । उहाले किसानको आर्थिक उन्नतिका लागि नगरपालिका संवेदनशिल भएर लाग्ने बताउंदै त्यसका लागि मिहिनेतका साथ काम गर्न किसानहरुलाई  आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिकाका दक्षिण तर्फ ५७ वटा बोरिङ रहेको उल्लेख गर्दै त्यसको सही सदुपयोग हुन सके र संरक्षणमा लाग्न सके तिलोत्तमामा सिंचाईको समस्या नरहने दावी गर्नुभयो ।

 वडा नम्बर १० का जैबिक खेतिका अभियान्ता डा दामोदर भुसालले पारीको हाईव्रीड धानभन्दा नेपालमै धानको बीउ  प्रवद्र्धनमा ध्यान दिनतर्फ किसान र स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । भुसालले किसानलाई मगन्ते नबनाउन आग्रह गर्दै किसान मालिक हुन भन्ने बुझाउन जरुरी रहेकोप्रति समेत सचेत गराउनुभयो  । 

त्यस्तै कृषि शाखा प्रमुख दोमलाल भुसालले  ज्ञान सीप,प्रबिधी बिना सुरु गरिएका कृषि कार्यले सही नतिजा दिन नसक्ने भन्दै नयां शैली र प्रविधिको प्रयोग गर्न सके किसानलाई सफलता मिल्ने बताउनुभयो । भुसालले कृषि औजारमा ५० प्रतिशत अनुदान ,सामुदायिक सिंचाई भएमा ८५ हजार अनुदानमा पाउन सकिने बताउनुभयो । 

कार्यक्रममा  बजार प्रतिनिधि गणेश बस्याल, नगरस्तरिय कृषि संजालका उपाध्यक्ष भेदबहादुर कुवंर,कृष्ण प्रसाद पौडेल शर्मा लगायतले  तिलोत्तमा १२ मा धेरै पशुपालक भएकोले गोठेमललाई कसरी प्राङारिक मल बनाउने भन्ने बिषयमा तालिम प्रदान गर्न अनुरोध गर्नुभएको थियो  ।

तपाईको प्रतिक्रिया