तिलाेत्तमा एक्स्ट्राटेक लिजेन्ड्स कप टी १० क्रिकेटमा सन् २०१४ को टी–२० विश्वकप टोलीले जितेको छ ।
पहिलो खेलमा सन् १९९६ लेजेन्ड्सलाई ५ विकेटले हराउँदै टि–२० विश्वकप २०१४ को टिम फाइनलमा प्रवेश गरेको थियो ।
२८ फाल्गुन ,तिलोत्तमा
रुपन्देहीको तिलोत्तमामा निर्माण शुरु भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा गत जेठ २९ गते शिल्यान्यास भएको रंगशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न,खेलाडी उत्पादन गर्न सहज हुने बताउनुभयो ।
पुर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रूपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले लगानीमैत्री वातावरण छ भन्ने पुष्टि गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पुर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पुर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट, कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे,तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण,नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले बोल्दै रंगशाला निर्माणले रूपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए । मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टि–१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । गुल्मीबाट तिलोत्तमामा बसाई सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका विनोद कुँवर दम्पत्तिले रुपन्देहीमा ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन शुरु गरेका हुन् ।
रंगशालाका अन्य पुर्वाधारहरु पांच वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको कुँवरले बताउनुभयो । क्रिकेट रंगशालामा बन्ने छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी क्रिकेट मैदान र क्रिकेट एकेडेमीका ब्रान्ड एम्बेसडर पूर्वक्रिकेटर शक्ति गौचनलाई दिएको कुँवरले जानकारी गराउनुभयो ।
मैदान उद्घाटन भएसँगै सुरु भएको लिजेन्ड्स कप लिजेन्ड कप टी १० क्रिकेटमा सन् २०१४ को टी–२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो । टी–२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रनमात्र बनाउन सक्यो । यसअघि पहिला ब्याटिङ गरेको टी–२० विश्वकप टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । पहिलो खेलमा सन् १९९६ लेजेन्ड्सलाई ५ विकेटले हराउँदै टि–२० विश्वकप २०१४ को टिम फाइनलमा प्रवेश गरेको थियो ।
तपाईको प्रतिक्रिया