तिलोत्तमा ५ का ४२ जना महिलामा पाठेघरको समस्या
२२ जना महिलामा क्यान्सर पोजेटिभको आशंका
प्रकाश पाण्डे । तिलोत्तमा २२ गते । तिलोत्तमा ५ मा आयोजना गरिएको पाठेघरको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २०० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । रोटरी क्लव अफ बुटवल डाउन टाउन तथा ओम महिला तथा बाल अस्पतालको सयुक्त आयोजनामा १ दिने शिबिर संन्चालन गरिएको हो । तिलोत्तमा वडा न ५ को सहकार्यमा आयोजना गरिएको शिविरमा २०० जना महिला दिदीबहिनीहरको निःशुल्क स्वास्थ्य परिक्षण गर्दा ४२ जनामा पाठेघरको समस्या देखिएको छ भने ती मध्ये २२ जनालाई क्यान्सर पोजेटिभको आशंका गरिएको र ६ जनाको पाठेघर नै फाल्नुपर्ने समस्याका विरामी फेला परेको रोटरी क्लव अफ बुटवल डाउन टाउनका अध्यक्ष कमला मल्ल हमालले जानकारी दिनुभयो ।
पाठेघरमा समस्या देखिएका महिलाहरुलाई निःशुल्क औषधी दिएर पठाइएको तथा थप उपचार गर्नुपर्ने विरामीहरुलाई अस्पताल मै उपचार गरिने हमालले बताउनुभयो । उहाँका अनुसार तिलोत्तमा जस्तो समृद्ध नगरपालिकामा यति धेरै संख्यामा पाठेघरका समस्या भएका विरामी फेला पर्नु चिन्ताजनक रहेको बताउनुभयो । यसअघि मंगलबार नै आयोजित उदघाटन सत्रमा बोल्दै तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेले महिला दिदीबहिनीहरुको स्वास्थ्य संवेदनशिलतामा वडा कार्यालय गंभीर रहेकाले बेला बेलामा स्वास्थ्य सम्बन्धि महत्वपूर्ण कार्यक्रम आयोजन गर्ने गरिएको बताउनुभयो ।
रोटरी क्लव अफ बुटवल डाउन टाउनका अध्यक्ष कमला मल्ल हमालको अध्यक्षता तथा तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुमेको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा ओम अस्पतालका अध्यक्ष शारदा तिवारी, डा शर्मिला शर्मा, वडाका जनप्रतिनिधि, आमा समुह, विभिन्न क्वल तथा स्थानीय महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । रोटरी क्लव अफ बुटवल डाउन टाउनका इलेक्ट प्रेसिडेन्ट शिव ज्ञवालीको स्वागत तथा तिलोत्तमा ५ अधारभुत स्वास्थ्य चौकीका ईन्चार्ज गणेश भण्डारीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
शिविरमा अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुले महिलाहरुलाई परामर्श दिनुका साथै सहभागिहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । तिलोत्तमाका हरेक वडामा नियमित रुपमा यो कार्यक्रम सन्चालन गरिदै आइएको तथा अब तिलोत्तमा वडा न ६ मा आगामी हप्ता कार्यक्रम गरिने ओम महिला तथा बाल अस्पतालले जनाएको छ । साथै यही फागुन २४ गते नारी दिवसको अवसर पारि अस्ताल प्रागणमा आयोजना गर्ने निःशुल्क थाईराईड स्वास्थ्य चेकजाच कार्यक्रममा सहभागी हुन अस्पतालले सवैमा आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया