00:00:00
खेलकुद

एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला फागुनदेखि सञ्चालनमा आउने

शुक्रबार मङ्सिर २९, २०८०/ Friday 12-15-23

तिलोत्तमा । मंसिर २९ गते । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला आउँदो फागुनदेखि सञ्चालनमा आउने भएको छ । तिलोत्तमा नगरपालिकामा निर्माणाधीन क्रिकेट रङ्गशाला फागुन १ गतेदेखि प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो ।

यो रङ्गशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आईटी कम्पनीले निर्माण गरिरहेको छ । आज बिहीवार भएको पत्रकार सम्मेलनमा एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद कुँवरले निर्माणाधीन क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताउनुभयो । उहाँले मैदानमा सात वटा पिच रहेको र फागुन १ गतेदेखि प्रतियोगिताका लागि योग्य हुने बताउनुभयो ।

रङ्गशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुम निर्माणको काम आउँदो माघदेखि शुरु गर्ने पनि निर्देशक कुँवरले बताउनुभयो । सबै रुमको काम आउँदो वैशाखसम्म सकिसक्ने उहाँले बताउनुभयो । रङ्गशालामा तत्कालका लागि दर्शक सिट पाँच हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने ठाउँ बनाइने उहाँको भनाइ छ ।

आउँदो दशैँसम्ममा रङ्गशाको सबै काम पूरा हुने उहाँले प्रतिबद्धता जनाउनुभयो । रङ्गशाला आउँदो वैशाखसम्ममा निर्माण सक्ने लक्ष्य राखिएको थियो । क्रिकेट रङ्गशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म पाँच करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया