बुटवलसहित १४ वटा यातायात कार्यालय अनलाइन प्रणालीमा आबद्ध
अब अनलाइनबाटै सवारीसाधन दर्ता लगायतका काम गर्न सकिने
तिलोत्तमा । मंसिर २४ गते । सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार बुटवल सहित हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ । अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुनेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम अघि बढाएको थियो ।
पोखरामा यसअघि नै अनलाइन सेवा सञ्चालन गरिएको थियो । यातायात कार्यालयमा रहेका पुराना ढड्डालाई पनि अनलाइनमा राखिने भएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भन्नुभयो, “अनलाइनबाट सेवा सुरु भएका छन् । पुराना ढड्डालाई पनि अनलाइनमा राख्ने काम हुन्छ । अबको एक डेढ वर्षमा पुराना ढड्डा पनि अनलाइनमा राख्ने काम सकिन्छ ।”
यसैबिच सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को पूर्ण छपाइको काम एक महिनापछि सुरु हुने भएको छ । छपाइ कार्ड सकिएपछि विगत छ महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको यातायात व्यवस्था विभागले पुस अन्तिमसम्म कार्ड आएपछि छपाइ सुरु हुने जनाएको छ ।
तपाईको प्रतिक्रिया