00:00:00
स्वास्थ्य

क्रिमसन अस्पतालमा छाती तथा फोक्सो रोग सम्बन्धि विशिष्टिकृत सेवा शुरु 

शुक्रबार मङ्सिर १५, २०८०/ Friday 12-01-23

तिलोत्तमा । मंसीर १५ गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित क्रिमसन अस्पतालले छाती तथा फोक्सो रोग बिशेषज्ञ सेवा शुरु गरेको छ । छाती तथा फोक्सोमा हुने विभिन्न खाले सक्रमण एवं रोग निदानका लागि उच्च प्रबिधि सहितको विशेषज्ञ उपचार सेवा शुरु गरिएको हो ।

भारतको अखिल भारतीय स्वास्थ्य बिज्ञान प्रतिष्ठान एम्सबाट एमडी पल्मोनरी मेडीसिनको रुपमा छाती तथा फोक्सो रोग सम्बन्धि बिशेषज्ञता हासिल गर्नुभएका चिकित्सक डा. प्रशान्त कुवँरलाई यसक्षेत्रका स्थानीय बासिन्दाको स्वास्थ्य परिक्षण एवं मनोपरामर्शकर्ताको रुपमा नियुक्त गरिएको क्रिमसन अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिनुभयो ।

छाती तथा फोक्सो रोग हेर्ने विशेषज्ञको रुपमा नियुक्त गरिएका डा. प्रशान्त कुवँर यसक्षेत्रमा नै पहिलो भएको अस्पतालको दावी छ । बस्यालका अनुसार यसअघि सामान्यदेखि गंभीर प्रकृतिका छाती तथा फोक्सो रोग सम्बन्धि बिरामीहरुले बिशेषज्ञता हासिल गरेका चिकित्सहरुसँग चेकजाँच एवं सेवा प्राप्तिका लागी काठमाण्डौं धाउनुपर्ने बाध्यता रहेको थियो ।

अब त्यसको अन्त्य भएको छ, ‘बस्यालले भन्नुभयो, सहज ढंगबाट १०० रुपियाँको टिकट काटेरै नजिकको क्रिमसन अस्पतालबाट सेवा शुरु गरिएको छ’ । यता नवनियुक्त डा. प्रशान्त कुवँरले नेपालीहरुमा बिशेष गरि छाती तथा फोक्सो रोगको संक्रमण बढी नै हुने गरेको बताउदै, सामान्यदेखि दीर्घरोगीसम्मको उपचार कुशल ढंगबाट गर्न आफु सक्षम रहेको प्रतिक्रिया दिनुभयो ।

बिषेशगरि छाती तथा फोक्सोमा देखिने दम, (सीओपीडी), निमोनिया, कोभिडका कारण छातीमा हुने पुरानो दम तथा त्यसका असरहरु, क्षयरोग अर्थात् टिवी, पेशाका कारण छातीमा हुने जुनकुनै रोग, स्वासप्रस्वास  सम्बन्धी समस्याहरु, छातीमा कफ जमेर जालो पर्ने, खोक्दा खकारमा रगत आउने समस्या, छातीमा हुने क्यान्सर, पल्मोनरी भास्कुलर डिजिज अर्थात् छातीको रक्तसन्चार गर्ने रक्तनलीमा हुने असर र त्यसबाट सिर्जित सबैखाले समस्या, लेक लाग्ने, सुत्दा हुने घुर्ने समस्या तथा दमका कारण भेन्टिलेटरमा राखि उपचार गर्नुपर्ने सबैखाले दीर्घरोगीहरको उपचार अब सहज र सरल ढंगबाट गरिने प्रतिक्रिया दिनुभयो ।

यस क्षेत्रमै पल्मोनरी मेडीसिनको रुपमा पहिलो बिशेषज्ञ चिकित्सक भई काम गर्न पाउँदा आफु निकै नै उत्साहित रहेको र दिनरात नभनि बिरामीहरुको उपचार सेवामा खटिन पाउनु आफ्ना लागी गौरवको कुरा भएको डा प्रशान्त कुवँरको भनाई छ ।

तपाईको प्रतिक्रिया