राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटेरेस चार दिने भ्रमणका क्रममा नेपालमा
तिलोत्तमा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । गयराति आइपुग्नुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ ।
महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । यस्तै, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ता लगत्तै उहाँले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदा स्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ ।
प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आज बेलुका सांस्कृतिक कार्यक्रम सहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा भोलि उहाँ नाम्चे, पोखरा र अन्नपूर्ण आधार शिविरको भम्रणमा निस्कनुहुने छ । पर्सि मङ्गलवार बिहान लुम्बिनी आउनुहुने र दिउँसो ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले नेपालको शान्त् िप्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कुटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।
तपाईको प्रतिक्रिया