संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मँगलबार लुम्बिनी आउँदै
तिलोत्तमा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मँगलबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । गुटेरेस कात्तिक १४ गते मंगलबार लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । गुटेरेस लुम्बिनी आउने राष्ट्रसंघको छैठौं महासचिव हुनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव गुटरेसले लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।
महासचिव गुटरेस कात्तिक १४ गते अर्थात मंगलबार बिहान ८ः ३५ बजे गौतमबुद्व अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्ने र त्यहाँबाट हेलिकप्टरबाट सिधै लुम्बिनी जाने कार्यक्रम रहेको छ । महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी समेत गरेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो । राईको भनाईमा मंगलबार बिहान ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस सहभागी औपचारिक कार्यक्रम हुनेछ ।
त्यहां सञ्चारकर्मीमाझ गुटेरेसले आफ्ना भनाइ राख्ने राईले जानकारी दिनुभयो । महासचिव गुटेरेससंग लुम्बिनीको विकासका लागि सहयोगका लागि अपिल गरिने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताउनुभयो । लुम्बिनीको गुरुयोजना नै संयुक्त राष्ट्रसंघको पहलमा तयार भएको हो । जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले सन् १९७८ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको आग्रहमा लुम्बिनी गुरुयोजना तयार पार्नुभएको थियो ।
सन् १९६७ को अप्रिलमा राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गर्नुभएको थियो । त्यसक्रममा बुद्ध जन्मस्थल लुम्बिनीको विकास नभएको र अवस्था दयनीय देखेपछि नेपालका तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । राष्ट्रसंघको महासचिवका रुपमा ड्याग हयामरकोल्ड, ऊ थान्त, ज्याभियर पेरिज डि कुइलर, कर्ट वाइल्डहाईम र बानकी मुनले लुम्बिनीको भ्रमण गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया