00:00:00
स्थानिय

सम्पत्तिको लोभमा जिउंदो भाइको मृत्यु दर्ता प्रमाणपत्र

मालपोत र वडा कार्यालयमाथि पनि उब्जियो प्रश्न
शुक्रबार भदौ १, २०८०/ Friday 08-18-23

तिलोत्तमा २०८० भदौ ०१

   रुपन्देहीको तिलोत्तमामा करोडौं मूल्य पर्ने जग्गा हडप्ने लोभमा जिउंदो भाइको मृत्यु भएको भनेर मृत्यु दर्ता प्रमाणपत्र बनाउने दाजु रुपन्देहीमा पक्राउ परेका छन् । झुठो विवरण दिएर जिवितै रहेका आफ्नै भाइको मृत्यु दर्ता गरिदिएका तिलोत्तमा नगरपालिका वडा नं. ४ का ईन्द्रकुमार कंडेल पक्राउ परेका हुन् ।

कंडेलले भाइ बेदुराम कंडेलको २०७८ साल भदौ १५ गते मृत्यु भएको भन्दै २०७८ साल असोज २६ गते तिलोत्तमा वडा नं. ४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । रोजगारीको सिलसिलामा भारतमा रहेका बेदुराम दुई वर्ष पछि घर आउँदा दाजु ईन्द्रकुमारले मृत्यु दर्ता गरिदिएको थाहा पाएर वडा कार्यालयमा मृत्यु दर्ता बदरका लागि निवेदन दिएपछि उक्त रहस्य बाहिरिएको हो ।

   कंडेलले भाई बेदुरामलाई बौद्धिक अपांग रहेका र २०७८ साल भदौ १५ गते रुपन्देहीको सैनामैना रानिबगियामा मृत्यु भएको र काजकिरिया समेत आफैले गरिदिएको भन्दै मृत्यु दर्ताको लागि वडा कार्यालयमा निवेदन दिएका थिए । कंडेलले दिएको निवेदनमा चारजना व्यक्तिबाट सनाखत गराएपछि तत्कालिन वडा अध्यक्ष दिवाकर ढकालको रोहवरमा वडा सचिव काशिराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता प्रमाणपत्र दिएका थिए ।

 ‘ईन्द्रकुमारले चारजना स्थानीयको सक्कल नागरिकता सहित सनाखत गरेको निवेदन लिएर आएपछि वडा कार्यालयले मृत्यु दर्ता गरिदिएको हो’– वडा सचिव ज्ञवालीले भने–‘ईन्द्रकुमारले सगोलमा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न भाइको मृत्यु भएको झुठो विवरण दिएको अहिले पत्ता लाग्यो ।’
बेदुराम अविवाहित रहेका र ईन्द्रकुमार बाहेक उनको अरु संरक्षक कोही नभएको निवेदनमा उल्लेख थियो ।

  वडा कार्यालयका अनुसार भाइको मृत्यु दर्ता गरेपछि ईन्द्रकुमारले जग्गा नामसारीको लागि पनि पाँचजनाबाट सनाखत गराएर वडा कार्यालयबाट सिफारिस गराएका थिए । अहिले भाइ बेदुरामले आफु जिवित रहेको र आफ्नो मृत्युदर्ता बदर गर्न निवेदन दिएपछि वडा कार्यालयले उक्त निवेदन जिल्ला प्रशासन कार्यालय पठाएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेपछि प्रहरीले झुठो विवरण दिएर भाईको मृत्यु दर्ता गर्ने ईन्द्रकुमारलाई पक्राउ गरी थप कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो। ईन्द्रकुमारले दिएका झुठो विवरणमा सनाखत गरिदिने व्यक्तिहरुबारे पनि अनुसन्धान भईरहेको अर्यालले जानकारी दिनुभयो।

 

तपाईको प्रतिक्रिया