तिलोत्तमा,बिन्दु भट्टराई
आर्थिक मन्दीले घरेलु एवं साना उद्योग समस्यामा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् । संकटको समयमा सरकारले उद्योगी ब्यवसायीलाई सहयोग नगरेको गुनासो गर्दै उनीहरूले आर्थिक सङ्कटबाट निकास पाउनका निम्ति कार्यक्रम गरिएको बताएका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तर्कृयामा नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका पूर्व अध्यक्ष कन्हैयालाल कशौधनले सरकारले उद्योगमैत्री वातावरण ल्याउन नसकेको भन्दै उद्योगी ब्यवसायीहरु सडक आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । प्रमुख अतिथि कसौधनले सरकार उद्योगमैत्री वातावरण सृजना गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।
महासंघ रुपन्देहीका अध्यक्ष ध्रुवकुमार धितालले उत्पादन घटेको अवस्थामा देशको परिस्थितिलाई बुझेर उत्पादन बढाउने र देशलाई सहज हुने गरी उद्योगीहरु पनि लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । उहांले सरकारले ल्याएका नीति कार्यान्वयनको पाटो फितलो भएकोले त्यसका लागि दवाब सृजना गर्ने र असहज परिस्थतिमा सहजता प्रदान गर्नका लागि के गर्न सकिन्छ भनेर कार्यक्रम गरिएको बताउनुभयो ।
अन्तर्कृयामा सहजीकरण गर्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले उहाँले लुम्बिनी प्रदेशमा दर्ता भएका ठूला मझौला र साना गरी १८३ उद्योगमा १ खर्ब ५५ अर्ब लगानी भएपनि सोही अनुसार उद्योग फस्टाउन नसकेको बताउनुभयो । उहांले नयाँ पुस्ता हिनताबोधबाट खिन्नतातर्फ लागेकोले राज्य गम्भीर नभए बिदेश पलायन हुनेको संख्या बढ्ने दाबी गर्नुभयो ।
महासंघका सचिव देवानन्द पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा रुपन्देहीका ५० भन्दा बढी उद्योगीहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया