00:00:00
स्थानिय

टुरिजम विषयलाई प्रयोगात्मक बनाउन सरोकारवालाको सुझाव

शनिबार जेठ ६, २०८०/ Saturday 05-20-23

जेठ ६, रुपन्देही 
   सेवा क्षेत्रमा खपत हुने जनशक्ति उत्पादनका शैक्षिक कार्यक्रमहरुलाई प्रयोगात्मक बनाउन सरोकारवालाले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको आयोजनामा शुक्रबार बुटवलमा सम्पन्न अन्र्तक्रियामा पढ्दै, काम गर्दै पेैसा आर्जन गर्ने तरिकाले विश्वविद्यालयले पाठ्यक्रम विकास गर्नुपर्ने सुझाव सरोकारवालाको दिएका हुन् ।

विश्वविद्यालयले पाठ्यक्रम सन्दर्भमा सुझाव संकलनका लागि यस क्षेत्रमा रहेका होटल तथा पर्यटन व्यवस्थापन अध्यापन गर्ने शैक्षिक प्रतिष्ठान तथा उद्योग क्षेत्रका सरोकारवालासंग छलफल गरेको कार्यक्रम संयोजन श्रीप्रसाद भट्टराईले जानकारी दिनुभयो । विश्वविद्यालय सिटी क्याम्पसका प्रमुख फणीन्द्र कुमार न्यौपानले बौद्ध दर्शनमा रहेर पर्यटन तथा होटल व्यवस्थापन पाठ्यक्रम तयार गर्ने गरी सुझाव संकलन गर्न अन्र्तक्रिया गरिएको भन्दै उहाँले सरोकारवालाहरुको सुझावलाई मार्गदर्शनका रुपमा लिइने बताउनुभयो ।

कार्यक्रममा धारणा राख्दै ड्रिम ग्रुपका म्यानेजर राजेन्द्र पौडेलले पढ्दै गरेको विद्यार्थीले सेवामुलक क्षेत्रमा आंशिक समय काम गर्ने परिपाटीको विकास हुने हो भने विदेश जानेको संख्यामा कमि आउन सक्ने बताउनुभयो । बुटवल मोडल कलेजका प्राचार्य नेत्र बस्यालले टुरिजमको खास अर्थलाई आत्मसाथ गरेर स्वदेशी भुगोल सुहाउदो पाठ्यक्रमको आवश्यकता रहेको उल्लेख गर्नुभयो । शिक्षक बरुण ज्ञवाली र रामचन्द्र कार्कीले उद्योग केन्द्रीत पाठ्यक्रमको आवश्यक रहेको भन्दै एउटा सेमेष्टरमा कम्तिमा एउटा प्रयोगात्मक विषय हुनुपर्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा अक्सफोर्ड कलेज, होराइजन कलेज, पाणिनी कलेज, आइएसएमटी कलेज, बुटवल मोडल कलेज, मणिमुकुन्द कलेज लगायत बिभिन्न शिक्षण संस्था, तालिम प्रदायक संस्था, होटल तथा उद्योगका सरोकारवालाको सहभागिता रहेको थियो । 
 

तपाईको प्रतिक्रिया