00:00:00
स्थानिय

नक्कली मह बिक्रिबितरण आरोपमा रुपन्देहीबाट ७ जना पक्राउ 

आइतबार बैशाख ३१, २०८०/ Sunday 05-14-23

पवित्रा चौधरी

बैशाख ३१, तिलोत्तमा
     नक्कली मह बिक्रिबितरण गरेको आरोपमा रुपन्देहीबाट ७ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उप–महानगरपालिका वडा नं. ११ सिर्जनानगरमा डेरा गर्दै आएका भारतको विहारका ७ जनालाई शनिबार राती ११ बजे प्रहरीले डेराबाटै पक्राउ गरेको हो । सुराकीको आधारमा वडा प्रहरी कार्यालय बुटवल, अस्थायी प्रहरी चौकी देविनगर र वडा नं ११ का जनप्रतिनिधिहरुसहितको टोलीले छापा मार्दा उनीहरुको डेराबाट अखाद्य पदार्थ केमिकल प्रयोग गरी मौरीको मह जस्तो देखिने तरल पदार्थसमेत बरामद गरेको छ ।

उनीहरु बस्ने घरकोठा खानतलासी गर्दा कोठाभित्र मौरीको मह जस्तो देखिने तरल पदार्थ र चाकाहरु र उक्त पदार्थ बनाउन प्रयोग भएको चिनी समेत फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले जानकारी दिनुभयो । थापाकाअनुसार पक्राउ पर्नेमा भारत विहार स्थायी घर भई हाल रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. ११ बस्ने ५२ वर्षीय मसिन धामी, सोही स्थानका ५५ वर्षीय ईन्द्रजित धामी, २१ वर्षीय पिन्टू धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षीय रवीन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षिय बुदुवा धामी रहेका छन् ।

पक्राउ परेका बुदुवा धामी र मसिन धामीको कोठाबाट मह जस्तो देखिने ५ पोका तरल पदार्थ र २ टिन चाका, अरुण धामीको कोठाबाट ३ पोका तरल पदार्थ र २ बाल्ट्री चाका, सुधिर धामी र रवीन धामीको कोठाबाट १० पोका महजस्तो देखिने तरल पदार्थ र २ टिन चाका र ५० के.जी. चिनी, ईन्द्रजित धामी र पिन्टु धामीको कोठाबाट ९ पोका तरल पदार्थ बरामद गरेको र बरामद सामानहरु आवश्यक कारवाहीको लागि खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ । 


  
 

तपाईको प्रतिक्रिया