पृथ्वी राजमार्ग खुलाउन ढिलाइ, बिहान सम्ममा एकतर्फी भए पनि खुलाउने प्रयास
काठमाण्डाै २०८० बैशाख १९
सडक भासिएपछि १७ घण्टादेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउन ढिलाइ भएको छ । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिए पछि पृथ्वी राजमार्ग ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार भासिएको भागमा पर्खाल लगाउने र भ्वाङ परेको ठाउँमा माटोले पुर्नेलगायतको काम भइरहेको छ । मंगलबार बिहान ८,९ बजेसम्म सडक खुलाउने प्रयास गरिए पनि निर्माण सामग्री अन्य क्षेत्रबाट ल्याउनु पर्ने, साँघुरो ठाउँका कारण ढिलाइ भएको जैसवारले बताउनुभयो ।
सडक मर्मतका लागि हिजैदेखि सेना र सडक विभागका कर्मचारीले रातभर झण्डै १० फिट तलबाट ग्याबियन वायर लगाइ माटो ढुङ्गाले भर्ने काम गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
हिजो दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रुको भने बिचल्ली भएको छ । १७ घण्टादेखि यात्रु अलपत्र परेका छन् । आज सडक खुले पनि दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले जाम भाईरहेको छ ।काठमाण्डौबाट रातको समयमा छुट्ने मालवाहक गाडीको लाइन कलङ्कीसम्म नै छ ।
तपाईको प्रतिक्रिया