00:00:00
स्थानिय

शिक्षामैत्री नीति नबन्दा ग्रामिणस्तरका विद्यालय विस्थापित हुने खतरा

मंगलबार बैशाख ५, २०८०/ Tuesday 04-18-23

बैशाख ५, रुपन्देही । 
  शिक्षामैत्री नीति निर्माण नहुँदा ग्रामीण स्तरका विद्यालय विस्थापित हुने खतरामा परेको शिक्षा क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । यस्तो  हुन नदिन  स्थानीय  तहमा आएको शिक्षाको अधिकारलाई  संघ प्रदेशले खोस्न नहुने उनीहरूले बताएका हुन् ।

रिपोर्टर्स क्लब लुम्बिनीले मंगलबार बुटवलमा आयोजना गरेको ‘अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ’ भन्ने विषयक साक्षात्कार कार्यक्रममा बोल्दै शिक्षा एवं प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा देशका ठूला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने परिपाटी रहेको बताउनुभयो ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले उच्च शिक्षामा राज्यको उदासीनता, बेखबर, ध्यान पुग्न नसकेको र अहिलेको सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुका लागि प्रभावकारी नभएको दाबी गर्नुभयो ।

बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा ऐन २०२८ लाई परिमार्जन गर्दै हालसम्म चल्दै आएको भन्दै नयाँ नीति नबनेसम्म शिक्षाको क्षेत्रको विकास सोचे अनुसार नहुने वताउनुभयो । शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले पालिकाले विद्यालयलाई खुम्चाउन खोज्दा ग्रामीण स्तरबाट विद्यालयहरु खोसिदै जाने खतरा बढेको स्पष्ट पार्नुभयो ।

निजि विद्यालयको छाता संगठन प्याब्सनका केन्द्रीय सदस्य टिकाराम न्यौपानेले हालको शिक्षा नीतिले सरकारी तथा संस्थागत विद्यालय कुनैलाई पनि फाईदा पुग्ने खालको पोलिसी ल्याउन नसकेको आरोप लगाउनुभयो ।

कालिका मानवज्ञान विद्यालय बुटवलका प्रधानाध्यापक दिनेश थापाले भर्ना अभियानका क्रममा कमजोर वर्गका विद्यार्थीहरुलाई समावेश नगरेको भन्ने कुरा गलत भएको वताउनुभयो । उहाँले शिक्षालाई सुधार गर्नका निम्ति भौतिक संरचना साथै शिक्षकहरुको गुणस्तरलाई जोड दिनुपर्ने वताउनुभयो । 
 

तपाईको प्रतिक्रिया