00:00:00
स्थानिय

महिनाबारी र प्रजनन स्वास्थ्यसम्बन्धी छलफल 

मंगलबार चैत २१, २०७९/ Tuesday 04-04-23

चैत, २१, तिलोत्तमा
पवित्रा चौधरी
   तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले महिलामा हुने महिनाबारी प्राकृतिक निरन्तर प्रकृया भए पनि प्रजनन स्वास्थ्यसंग प्रत्यक्ष जोडिएकोले सम्वेदनशिल हुनुपर्ने बताउनुभएको छ ।

सिर्जनशिल संस्था नेपालले मंगलबार तिलोत्तमामा आयोजना गरेको प्रदेशस्तरीय छलफलमा प्रमुख अतिथि चौधरीले महिनाबारीका समयमा हुन सक्ने संक्रमणबाट बच्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समाजका रुढीबादी मूल्यमान्यता चिर्नका लागि अभियानकै रुपमा लागेको भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । 

अन्तरक्रियामा सिर्जनशिल संस्था नेपालका अध्यक्ष प्रतिमा शर्माले छलफलका माध्यमबाट महिनाबारीका समयमा हुने गलत अभ्यासबारे सचेत हुने अवसर प्राप्त हुने उल्लेख गर्नुभयो । उहाँले यस्ता छलफलले खराब अभ्यासहरु छाड्दै जाने र असल अभ्यासहरु सिक्दै जान सकिने बताउनुभयो ।

फ्रिडम किट ब्याग परियोजनाअन्तर्गत सिर्जनशिल संस्था नेपालले उत्पादन गर्दै आएको पुनः प्रयोगमा ल्याउन सकिने प्याडको प्रयोगले महिलाको प्रजनन स्वास्थ्य र वातावरणीय सरसफाईमा सहयोग पुग्ने परियोजनाका डा. रोजा म्याथर्सन र डा.ईयान म्याथर्सनले बताउनुभएको थियो ।

सैनामैना नगरपालिकाका उपप्रमुख बिना राना, शुद्धोधन गाँउपालिकाका उपप्रमुख शान्तीदेवी ज्ञवालीलगायतले बोल्नुभएको कार्यक्रममा सहभागिहरुले प्याडको प्रगोगबारे अनुभव र जिज्ञासा राखेका थिए । संस्थाका कार्यक्रम प्रमुख प्रतिमा पन्थीले कार्यक्रमबारे प्रकाश पार्दै परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, ओमसतिया, बुटवल, दाङ, नेपालगञ्ज र रोल्पामा महिनाबारीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको थियो ।

संस्थाका कोषध्यक्ष कल्पना ढकालको स्वागत र महासचिव बिजु पौडेलको सञ्चालनमा छलफल सम्पन्न भएको थियो । 
 

तपाईको प्रतिक्रिया