राममणी बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
फागुन २९, तिलोत्तमा
पवित्रा चौधरी
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शिक्षा क्षेत्रमा केही परिवर्तन आए पनि शैक्षिक संस्थाहरुमा अहिलेको मागअनुसारको शिक्षा अवलम्वन हुन नसकेको बताउनुभएको छ । सोमबार राममणी बहुमुखी क्याम्पस तिलोत्तमा ५ मणिग्रामको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि खाँणले आवश्यकता अनुसारको उच्च शिक्षा दिन सके मात्र शिक्षा क्षेत्रको विकास हुने बताउनुभएको होे । यसका लागि त्रिभुवन विश्वविद्यालय, शैक्षिक संघसंस्था र तिनै तहका सरकार लाग्नुपर्ने खाँचो औल्याउनुभयो ।
नगरप्रमुख खाँणले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेश पलायन हुने विषय चुनौतिपूर्ण बन्दै गएका भन्दै यसतर्फ त्रिभुवन विश्वविद्यालय र तिनै तहका सरकार गम्भिर हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले राममणी बहुमुखी क्याम्पस तिलोत्तमाको गहना भएको उल्लेख गर्दै क्याम्पसको संरक्षण, शैक्षिक विकास र विस्तारको जिम्मेवारी नगरपालिकाले लिने र यसका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राममणी बहुमुखी क्याम्पसका संरक्षक तथा निवर्तमान अध्यक्ष रोमणीप्रसाद पाठकले क्याम्पसको शैक्षिक गुणस्तर विकासका लागि पठनपाठन र विद्यार्थीका अनुशासनमा निरन्तर अनुगमनका साथै शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
क्याम्पसका अध्यक्ष धु्रव कुमार धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसका निवर्तमान अध्यक्ष र पूर्व सदस्यहरुलाई सम्मान तथा क्याम्पसको वार्षिक आयव्यय विवरण प्रस्तुत पुस्तकको १८ औं अंक दिपिकाको विमोचन गरिएको थियो ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख टेकराज अर्याल, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डे, नेकपा माओवादी तिलोत्तमा नगर कमिटि सभापति बेलप्रसाद शर्मा, चेम्बर अफ कमर्श लुम्विनी प्रदेशका महासचिव जेपी कंडेल, शान्ति नमूना माविका अध्यक्ष शरद भट्टराई, पशुपति कलेजका प्रमुख कृष्ण प्रसाद शर्मा, प्राध्यापक संघका सभापति राजेन्द्र थापा मगर लगायतले मन्तव्य राख्नुभएको थियो ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख स्वर्गाीय आनन्दप्रसाद पाण्डेको स्मृतिमा उहाँका परिवारले एक लाख ११ हजार एक सय ११ रुपैँयाको छात्रवृति कोष स्थापना गरेका छन् । क्याम्पसका उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागत तथा शिक्षक मुक्ति प्रसाद गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०७८÷७९ मा उतीर्ण विद्यार्थी र वार्षिकोत्सवको अवसरमा सम्पन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा कविता प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया