झारफुकको बहानामा यातना दिँदा १४ वर्षीय किशोरीको मृत्यु
फागुन २३, रुपन्देही
रुपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा यातना दिँदा एक किशोरीको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१० झिमझिमे का १४ वर्षीय सीता ज्ञवालीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार कान दुखेर सिकिस्त सीताको ५ दिनदेखि घरेलु उपचारबाट निको नभएपछि परिवारले थप उपचारका लागि भन्दै शनिबार स्थानीय बेमतनीस्थित झाक्री सोनिया रेश्मीकोमा लगेका थिए । रेश्मीले बोक्सी लागेको र त्यसलाई हटाउने भन्दै किशोरीलाई पानी खन्याउने र कुट्ने, लतार्नेलगायत चरम यातना दिएको र यातना सहन नसकेर शनिबार राति साढे ९ बजे किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झारफुकको बहानामा झाक्रीको कुटाइबाट मृत्यु भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीले सोमबार अभियुक्त सोनिया रेश्मीलाई पक्राउ गरेको छ । उनलाई ज्यान मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट दिन ७ म्याद थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
तपाईको प्रतिक्रिया