१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै
काठमाण्डाै १२ फाल्गुन २०७९
आज शुक्रवारदेखि यूएईमा आईसीसी १९ वर्षमुनिकाे विश्व कप एसिया क्षेत्र छनोटकाे खेल सुरु हुँदैछ । नेपालसहित छ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिकाे विश्व कप खेल्न पाउनेछ ।
नेपालले आज सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुने यो खेल इडेन गार्डेन्समा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल, सिङ्गापुर, मलेसिया, हङकङ, कुवेत र यूएई रहेका छन् । यो प्रतियोगिता लिगको आधारमा हुनेछ ।
नेपालले अन्तिम पटक सन् २०१६ मा यो विश्व कप खेलेको थियो । नेपाल सन् २०१८ को १९ वर्षमुनिकाे विश्व कप छनोटमा अफगानिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै सन् २०१९ को एसिया क्षेत्र छनोटमा यूएईसँग डकवर्थ लुइस पद्धतिकाे आधारमा १ रनले पराजित भएको थियो । त्यो १ रनको हारले नेपालले सन् २०२० र २०२२ को १९ वर्षमुनिकाे विश्व कप खेल्न पाएन ।
नेपालको टोलीको कप्तानी देव खनालले गर्दैछन् । आज पहिलो खेल सिङ्गापुरसँग खेल्ने नेपाली टोलीले भोलि शनिवार कुवेतसँग, फागुन १५ गते हङकङसँग, १६ गते मलेसियासँग र अन्तिम खेल फागुन १८ गते यूएईसँग खेल्नेछ ।
तपाईको प्रतिक्रिया