पालिकाको साँझा कार्यक्रमले समग्र रुपन्देहीको बिकास सम्भव : तिलोत्तमा नगर प्रमुख खाँण
फाल्गुण ११, तिलोत्तमा
रुपन्देहीका १६ वटा स्थानीय तहको साझा कार्यक्रमले मात्र रुपन्देही र समग्र देशको बिकास हुनेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन्। जिल्लाका १६ वटा स्थानीय तह र जिल्ला समन्वय समितिबिच बुधबार तिलोत्तमा नगरपालिकामा बसेको घुम्ति बैठकमा जनप्रतिनिधिहरुले सबैको साँझा कार्यक्रमले रुपन्देही र देशको बिकासमा पुर्ण गतिशिलता ल्याउने निचोड निकालेका हुन्। बैठकमा छाडा चौपायाको ब्यवस्थापन पालिकाहरुका लागि मुख्य चुनौती रहेको बताउदै १६ वटै स्थानीय तहको संयुक्त प्रयासबाट मात्र छाडा चौपायाँ ब्यवस्थापन गर्न सकिने निष्कर्ष निकालिएको छ । खुल्ला सीमा र दुध दिन छाडेपछि सडकमा गाई छाड्ने प्रवृत्तिले गर्दा छाडा चौपायाँ बढ्दै जाँदा सडक दुर्घटनादेखि कृषकको बालिनालीमा क्षति पुग्ने गरेको उनिहरुले बताएका छन ।
तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले छाडा चौपाँयाको ब्यवस्थापनको लागि भन्दै नगरमा २ वटा गौशाला सञ्चालन गरिएपनि अझैं नियन्त्रण हुन नसकेको गुनासो गर्नुभयो। नगरले सञ्चालन गरेको गौशालामा अहिले ३३५ वटा गाईगोरु रहेको र पालनपोषणका लागि एउटा गाईलाई मासिक १ लाख खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो ।सडकमा भेटिएका छाडा चौपायालाई गौशालामा लगे पनि नियन्त्रणमा आउन नसकेको बताउँदै खाणले अन्तरपालिकाको समन्वयन बढाउँदै ब्यवस्थापन गर्न आवश्यकता रहेको बताउनुभयो ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले गाईगोरुलाई सडकमा छाडा छोड्नेहरुलाई गाउँपालिकाले कारबाही गर्न सुरु गरेको बताउनुभयो । गाईगोरुलाई सडकमा ल्याएर छोडेको थाहा पाए १० हजार जरिवाना तिराउँदै आएको उहाँले जानकारी दिनुभयो । छाडा चौपाया ब्यवस्थापनको लागि गाउँपालिकाले गौशाला सञ्चालन गरे पनि नियन्त्रणमा आउन नसकेको गुनाशो उहाँको पनि छ । छाडा चौपायाले गर्दा गाउँपालिकामा किसानको बालीमा नोक्सानी गरेको गुनासो आउने गरेको घिमिरले बताउँनुभयो ।५ विघा जग्गा भाडामा लिएर अस्थायी टहरा निर्माण गरेर एक सय वटा छाडा चौपायाँको ब्यवस्थापन गरेको जानकारी दिनुभयो । एउटा पालिकाले मात्र गौशाला सञ्चालन गरेर छाडा चौपायाँ नियन्त्रणमा आउन नसक्ने र सबै पालिकाको समन्वयनको खाँचो रहेको घिमिरेले बताउनुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र प्रसाद शर्माले छाडा चौपाँया ब्यवस्थापनको लागि कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका र सैनामैना नगरपालिका संयुक्त रुपमा मिलेर ब्यवस्थापनमा लागेको जानकारी दिनुभयो । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले छाडा चौपायासँगै निल गाईले गर्दा कृषकको बालीमा क्षति पुग्ने गरेको र निल गाई नियन्त्रणमा चुनौती देखिएको बताउनु भयो । सिद्धार्थनगर नगरपालिकाका प्रमख ईश्तियाक अहमद खानले खुल्ला सीमाका कारण पनि छाडा चौपायाँ बढ्दै गएको बताउनुभयो । अहिले नगरमा छाडा कुकुरको पनि समस्या देखिएको बताउँदै उहाँले नियन्त्रणको लागि बन्धाकरण सुरु गरेको जानकारी दिनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले पालिकाहरुका बिचमा समन्वयनकारी भूमिका खेल्दै समस्याहरुको सामाधान गर्न सुझाव दिनुभयो । आवश्यक कानून निर्माणमा जोड दिँदै उहाँले बजार अनुगमन र बिपद् ब्यवस्थापनको तयारीमा लाग्नका लागि पनि सुझाव दिनुभयो ।जिल्ला समन्वयन समितिका सभापति उमाकान्त चपाईले छाडाचौपाया सबै पालिकाहरुको साझा चुनौती रहेकोले सामाधानका लागि पनि सबै पालिकाको समन्वयनकारी भूमिका रहनुपर्ने बताउनु भयो । घुम्ति बैठक प्रत्येक महिनाको १० गते फरक –फरक पालिकामा बस्दै आएको छ । बुधबार तिलोत्तमामा बसेको बैठकमा छाडा चौपाया ब्यवस्थापन, विद्यालयको मावि तहको कक्षा एकै समयमा सञ्चालन, खानेपानी संस्था दर्ताका लागि कानून निर्माण, विपद् व्वस्थापन लगायतका विषयमा छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया