रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा ३५ दिने सुपर लिग क्रिकेट
भैरहवा २०७९ माघ २८
शनिबारदेखि भैरहवामा रुपन्देही क्रिकेट संघको आयोजनामा ३५ दिने जिल्लास्तरीय सुपर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता हुन लागेको संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा जिल्लाका २० क्लबको सहभागिता रहनेछ । जसमा (ए) डिभिजनका ८ क्लब छन् भने (बी) डिभिजनका १२ क्लब छन् । प्रतियोगिताको सुरुमा (बी) डिभिजनका १२ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट उत्कृष्ट चार टिमलाई छनौट गरी (ए) डिभिजनका टिममा समावेश गरी १२ टिमबीच सुपर लिगमा प्रतिस्पर्धा गराइने अध्यक्ष थापाले बताउनुभयो ।
प्रतियोगितामा विजेता क्लबले नगद ८० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ५० हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।खेल ५० ओभरको हुनेछ । प्रतियोगिताको नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ । माघ २८ देखि चैत्र २ गतेसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च लाग्ने सुपर लिग संयोजक धिरज क्षेत्रीले बताउनुभयो ।
यसैबीच खेलाडी, अम्पायर र खेल हेर्न जाने दर्शको हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी संघ र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाबीच दुर्घटना विमा गर्ने सहमति भएको संघका सचिव सञ्जय गुरुङ्गले बताउनुभयो । सचिव गुरुङ्गका अनुसार खेल अवधिभर रंगशाला भित्र खेलाडी, अफिसियल र कार्यसमितिको १ लाखको दुर्घटना बीमा गरिएको छ ।
२०५३ साल देखि नै सुपर लिग गराउदै आएको रुपन्देही क्रिकेट संघले यसै प्रतियोगिता मार्फत सयौ क्रिकेट खेलाडी उत्पादन गरेको छ । एकदिवसीय फर्मेटमा यो नेपालकै पहिलो सुपर लिग रहेको संघको दावी छ । कोभिड एवम अन्य कारणले ३ बर्ष प्रतियोगिता हुन नपाए पनि २३औ पटक यो प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय एम्पायर समेत रहेका संघका सचिव सञ्जय गुरुङ्गको भनाई छ ।
तपाईको प्रतिक्रिया