00:00:00
स्थानिय

विद्यालय पोशाक मौसममैत्री नभएकोमा रुपन्देहीका शिक्षक–विद्यार्थीको गुनासो

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23

पवित्रा चौधरी
२०७९ माघ १९, तिलोत्तमा

   विद्यालय पोशाक मौसममैत्री नहुँदा समस्या भएको रुपेन्देहीका विद्यार्थीहरूले गुनासो गरेका छन् । खासगरि जाडोयाममा विद्यालयले निर्धारण गरेको पोशाक लगाउँदा चिसो नै नथेग्ने उनीहरूको गुनासो छ । घरमा बस्दा बाक्ला लुगा लगाए पनि विद्यालयको पोशाकले जाडो नछेक्ने शान्ति नमूना माविमा कक्षा ५ का विद्यार्थी साक्षी गुप्ताले गुनासो गर्नुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ४४ वटा सामुदायिक र ४२ वटा संस्थागत विद्यालय छन् । विद्यालयलाई सामुदायिक र संस्थागतमा वर्गीकरण गरिए पनि विद्यार्थी र शिक्षकले लगाउने पोशाक भने सबै विद्यालयमा लगभग मिल्दोजुल्दो छ । विद्यालयमा छात्रका लागि सर्ट पाइन्ट र छात्राका लागि सर्ट, फ्रक वा पाइन्ट अनि स्वेटर वा कोट र छालाका जुत्ता तोकिएको छ । तर, चिसो धेरै भएका बेला बाक्लो ज्याकेट र कपडाको जुत्ता लगाउन नपाउँदा गाह्रो हुने विद्यार्थीहरूको गुनासो छ ।

विद्यार्थीका लागि मात्र नभइ शिक्षकका लागि तोकिएको पोशाकसमेत मौसममैत्री नभएको गुनासो छ । विद्यालयको पोशाक व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई छ । तिलोत्तमा नगरपालिकाको शिक्षा शाखाका प्रमुख गङ्गाराम आचार्यले पोशाकलाई मौसममैत्री बनाइने बताउनुभयो । धेरै जाडो र गर्मी हुँदा विद्यालय बिदा गर्ने गरिएको छ । तर, यस्तो बिदा बाहेकका दिनमा विद्यालय जाने विद्यार्थी र शिक्षकलाई मौसम अनुसारको पोशाक निर्धारण गर्नुपर्ने विद्यार्थी र शिक्षक बताउँछन् ।

तपाईको प्रतिक्रिया