आज पुस शुक्लपूर्णिमा : एक महिने श्री स्वस्थानी व्रत कथा प्रारम्भ
काठमाडौं २०७९ पौष २२
आज पुस शुक्लपूर्णिमा । आज (शुक्रबार)बाट माघमहात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।
स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । सतिदेवी दक्ष प्रजापतिकी छोरी हुन् । तर, दक्ष प्रजापतीले अन्य देवगणका अगाडी सतिदेवीकी पति आराध्यदेव भगवान शिवजीको अपमान गरेपछी, आवेगमा सतिदेवीले अग्नीकुण्डमा हामफालेर देहत्याग गरेको पौराणिक कथा छ । जल्दै गरेको उनको शरिरलाई हातमा राखेर महादेवले भावविह्वल भएर संसार परिक्रमा गरेका छन्, यसरी परिक्रमा गर्दा सतिदेवीका शरीरका अङ्गहरू क्रमैसँग धर्तीका विभिन्न स्थानमा झरेको स्कन्द पुराणले बताएको छ ।
आराध्य देव भगवान शिवजीको महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृंखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरू एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ ।
स्वस्थानी व्रत समापन गर्दा नेपालका धेरै ठाउँमा मेला लाग्ने गर्दछ, व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । भक्तालुहरुको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरू पनि हुन्छ ।
तपाईको प्रतिक्रिया