00:00:00
स्थानिय

गरिबलाई बाँड्न पुराना कपडा संकलन गर्दै बर्दघाट नगरपालिका

मंगलबार पौष १९, २०७९/ Tuesday 01-03-23

पुष १९, परासी 
  चिसोबाट प्रभावित गरिब परिवारलाई वितरण गर्न नवलपरासीको बर्दघाट नगरपालिकाले पुराना कपडा संकलन गर्न थालेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्न भन्दै पुराना कपडा संकलन गर्न समिति नै बनाएर पठाएको छ ।

  जिल्लामा केही दिनदेखि शितलहरसँगै अत्याधिक चिसो बढेको छ । पुराना कपडा वितरणको निर्णयसँगै नगरपालिकाको आलोचनासमेत सुरु भएको छ । सामाजिक सञ्जाल र विभिन्न संस्थाहरुले त्यसको आलोचना सुरु गरेका हुन् । नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ रहेको सूचना अधिकारी पुष्कर काफ्लेले बताए । नगरमा १५० जना विपन्न परिवार छन् । कोषबाट विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा समेत खरिद गरेर वितरण गर्न सक्ने काफ्लेले बताउनुभयो ।

  तर, स्थानीय सरकार भएर क्लबजस्तै गरी पुराना कपडा संकलन गरेर वितरण गर्नु विपन्नप्रतिको हेपाहा प्रवृत्ति भन्दै आलोचना हुन थालेको छ । ‘ यो निर्णयले स्थानीय सरकारको अनुभूति हुन सकेन । न्यानो कपडा नभएर जनता पीडित नै भएको भए किनेर दिनुपर्छ । क्लबजस्तो उठाउँदै हिड्नु जायज होइन ।’ गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बालिन्द्र विक्रम शाहीले भन्नुभयो ।

  नगर प्रमुख शम्भु प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको समितिको बैठकले कपडा संकलन गर्न वडा नं. ८ का वडाध्यक्ष कविराज आचार्यको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर परिचालन गरको छ । कपडा संकलन समितिमा नगर उद्योग वाणिज्य संघ, रेडक्रस, बजार विकास समितिलगायत छन् । पुराना कपडा संकलनबारे नगर प्रमुख श्रेष्ठले आवश्यक परे नयाँ खरिद गरेर वितरण गर्न सकिने बताउनुभयो ।

‘पुराना कपडाभन्दा पनि पुनः प्रयोगमा आउन मिल्ने कपडा संकलन गरेर वितरण गर्न समिति बनाएर परिचालन गरेका हौं । संकलन हुन नसके नयाँ खरिद गरेर दिन सकिन्छ । यसलाई अन्यथा लिन भएन ।’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो । 
यसैबीच चिसोबाट राहत पुर्याउन नगरपालिकाले वडा नं. १३ का वडाध्यक्ष नरबहादुर चौधरीको संयोजकत्वमा दाउरा वितरण समिति गठन गरेर चोक चोकमा आगो ताप्ने व्यवस्थाका लागि परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया