बुटवल - २०७९ पौष १७
बुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको छ । अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इरिक्सामात्रै चल्न पाउनेछन् ।
दर्ता नगरी सञ्चालन भएका इरिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र दर्ता नभएका इरिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो । आइतबारदेखि दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाउँदै सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही अघि बढाउने अभियान सञ्चालन गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरलाई सुन्दर, सफा र व्यवस्थित गर्दै कानुनी राज्यको रुपमा स्थापित गर्न बिनादर्ताका इरिक्सा सञ्चालनमा रोक लगाएको जानकारी दिनुभयो । पाण्डेले यसअघि नगरले तयार पारेको कार्यविधिअनुसार थप १ सय ८४ इरिक्सा दर्ता गर्न बाँकी रहेको र त्यस्ता इरिक्सा दर्ता गर्दा स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिने बताउनुभयो ।
हाटबजारभन्दा बाहिर सडक क्षेत्रमा बजार लगाउने किसान र व्यवसायीलाई हाटबजारभित्र ल्याउने काम भइरहेको छ, अब अनुमति नलिइ मनपरी रुपमा चलाएका इरिक्सा व्यवस्थापन गरेपछि बुटवल शहर केही व्यवस्थित हुनेछ ।’
राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयमा काज सरुवामा आएका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बुटवल उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सहकार्य गर्न कार्यालय तयार रहेको बताउनुभयो । अधिकारीले दर्ता नगरी सञ्चालन गरेका इरिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कारबाही गर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया