00:00:00
स्थानिय

चिनी उद्योगको प्रदुषणले स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर 

आइतबार पौष १७, २०७९/ Sunday 01-01-23

नवलपरासी, १७ पुस 

नवलपरासीको सुनवल नगरपालिकास्थित लुम्बिनी चिनी उद्योगको प्रदुषणका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ । बजार क्षेत्रमै रहेको उक्त उद्योगबाट निस्केको धुलो र दुर्घन्धका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पु¥याएको भन्दै स्थानीयहरु उद्योगसँग आक्रोशित छन् ।

प्रदुषण नियन्त्रणका लागि पटक पटक माग गर्दासमेत वास्ता नगरेकोले अब उद्योग नै बन्द गर्ने सुनवलका स्थानीयवासीहरुले चेतावनी दिएका छन् । मंसिरको तेस्रो सातादेखि उद्योगले उखु क्रसिङ्ग सुरु गरेको छ ।

प्रदुषण नियन्त्रण गर्ने उपकरण राखेर मात्र उद्योग सञ्चालन गर्न माग गरेपनि वास्ता नगर्दा मानव स्वास्थ्यमा समेत प्रतिकुल असर परेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् । उद्योगले आगो बाल्नका लागि प्रयोग गरेको भुसका कारण त्यसबाट निस्केको कालो खरानीसहितको कणले नगर क्षेत्रका आधाभन्दा बढी वडाहरु प्रभावित बनेका हुन् ।

सबैभन्दा बढी उद्योगले सञ्चालन गरेको डिष्ट्रिलरीमा प्रयोग गरेको भुसले प्रदुषण बढेको हो । भुसको धुलो उडेर बालीनाली र सागसब्जी मर्न थालेका छन् । भुसको धुलोसहितको कणले त्यस क्षेत्रमा आँखा र छाला चिलाउनेका बिरामीहरु बढ्न थालेको स्थानीय दीपक खनाले बताउनुभयो । 

तीन वर्ष बन्द रहेको उद्योग गतवर्षबाट सञ्चालनमा आएको हो । यसवर्ष प्रदुषणमुक्त उपकरण जडान गरेर मात्र सञ्चालन गर्ने सहमति गरेपनि अटेरी गरेर उद्योग चलाएको स्थानीय जीवन पौडेलले बताउनुभयो । प्रदुषण नियन्त्रण नगरी उद्योग चलाएकाले अब उद्योग नै बन्द गर्ने अवस्था सृजना भएको प्रदुषण नियन्त्रण संघर्ष समितिका संयोजकसमेत रहेका पौडेलले बताउनुभयो । 
यता प्रदुषण नियन्त्रणका लागि जडान गरिएको उपकरण प्रभावकारी नभएकाले नियन्त्रण गर्न समस्या भएको उद्योगका प्रशासन प्रमुख कुश प्रसाद सुवेदीले बताउनुभयो । प्रदुषण नियन्त्रणका लागि ल्याइएको उपकरणले काम नगरेपछि त्यसमा थप गर्न अर्को उपकरण मगाएकाले  २÷४ दिनमा समस्या समाधान हुने सुवेदीको दाबी छ ।
करोडौं  लगानी गरेर उद्योग सञ्चालन गर्ने तर प्रदुषण नियन्त्रणका लागि प्रयोग हुने उपकरण लगाउन उद्योगीहरुले कञ्जुसाई गर्दा उद्योग क्षेत्रका सर्वसाधारणहरु मारमा पर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया