00:00:00
स्थानिय

स्व.पत्रकारका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण

शुक्रबार पौष १, २०७९/ Friday 12-16-22

हरि शर्मा,परासी
२०७९ पुष १

     नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पत्रकार स्व. घनश्याम पोखरेलका परिवारलाई दुर्घटना बीमाबापतको रकम हस्तान्तरण गरिएको छ । शाखा सदस्य पोखरेलको गत जेठ २४ गते भिरबाट लडेर मृत्यु भएको थियो ।

      शाखाको बाह्रौ साधारणसभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्व. पोखरेलकी धर्मपत्नि नमिता पोखरेलाई बीमाबापतको चेक हस्तान्तरण गर्नुभएको हो । शाखाले उक्त रकम पत्रकार पोखरेलकी सात वर्षिय छोरी युनिका पोखरेलको नाउँमा उपलब्ध गराएको छ । चेक हस्तान्तरण गर्दै वरिष्ठ उपाध्यक्ष विष्टले पत्रकारहरुको हकहित र सुरक्षाका लागि जिल्ला शाखाहरुले गर्ने कामलाई केन्द्रले सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गर्नुभयो ।

    सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाले पत्रकारितामा चुनौती थपेको बताउँदै विष्टले पत्रकारिताको माध्यमबाट त्यसलाई चिर्न जरुरी रहेको बताउनुभयो । साधारणसभामा पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगाएतका पत्रकारले पछिल्लो पटक पत्रकारिता क्षेत्र मर्यादित हुन नसकेको गुनासो आइरहेकाले त्यसलाई ध्यान दिएर पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिएका थिए ।
 
   जिल्ला शाखाले शाखामा आवद्ध ८६ जना सबै सदस्यहरुको दुर्घटना बीमा गराएको छ । हाल एक लाखको दुर्घटना बीमा गराइएकोमा त्यसलाई बढाएर पाँच लाख बनाउन लागिएको जिल्ला कोषाध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो । शाखाले आफ्नै कोषबाट दुर्घटना बीमा गराउने गरेको छ । भने पत्रकारहरुको उपचार र दैविप्रकोपलाई लक्षित गरी पत्रकार कल्याणकारी कोषसमेत स्थापना गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया