00:00:00
राष्ट्रिय

आज उधौली पर्व मनाइँदै

बिहीबार मङ्सिर २२, २०७९/ Thursday 12-08-22

मंसिर २२, काठमाण्डौ 
किराँत समुदायले आज उधौली पर्व देशभर हर्ष उल्लासका साथ मनाइदै छन् । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई याख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ ।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो ।

बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खारपितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली पर्व मनाउने तरिका फरक छ ।

उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । 
सरकारले उधौली पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

तपाईको प्रतिक्रिया