नवलपरासीका राजनीतिक दलबाट दलित उम्मेदवार उठाउन कञ्जुसाँई
हरि शर्मा,परासी
२०७९ कार्तिक १
आगामी मंसिर ४ गते हुने निर्वाचनमा नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट कुल ८८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा सहभागी भएकामध्ये १६ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् भने स्वतन्त्रबाट उम्मेदवारी दिनेको संख्या ३७ छ ।
उम्मेदवारी दिएका राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट दलित उम्मेदवार उठाएका छैनन् । दलित समुदायबाट २ जनाले मात्र स्वतन्त्रबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । अन्य कुनै पनि निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट समेत दलित समुदायबाट उम्मेदवारी परेको छैन जिल्लामा २ निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ११ दल र ७ स्वतन्त्र गरी कुल १८ जनाले उम्मेदवारी दिएका छन् । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’तर्फ ८ राजनीतिक दल र स्वतन्त्रबाट ८ गरी कुल १६ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ तर्फ ८ राजनीतिक दल र ३ स्वतन्त्र गरी ११ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा १० दल र ८ स्वतन्त्र गरी कुल १८ जनाले उम्मेदवारी दिएका छन् । सो निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ बाट ७ राजनीतिक दल र स्वतन्त्रबाट ४ गरी कुल ११ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभा ‘ख’ बाट ७ राजनीतिक दल र ७ स्वतन्त्र गरी कुल १४ जनाको उम्मेदवारी परेको छ । ३ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा कुल मतदाता संख्या २ लाख ४० हजार ९३० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया