00:00:00
राष्ट्रिय

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार 

बुधबार असोज ५, २०७९/ Wednesday 09-21-22

असोज ५, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । संसद्ले प्रमाणीकरणका लागि पठाएको विधेयक १५ दिन वित्दा पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको कतिपय संविधानविद्को तर्क छ ।

राष्ट्रपति भण्डारीले साउन २९ मा नागरिकता विधेयक फिर्ता पठाउँदा वैवाहिक अङ्गीकृत नागरिकता विधेयकको व्यवस्था, प्रादेशिक पहिचान तथा आमाको नामबाट नागरिकता जारी गर्दा हुने महिलाको आत्मसम्मानमा चोटका विषय उठान गर्नुभएको थियो । यी विषयमा पुनर्विचार गर्नुपर्ने सुझाव राष्ट्रपतिको भए पनि यसलाई पूरै बेवास्ता गरेर संसद्को बहुमतबाट विधेयक जस्ताको तस्तै पारित गरी प्रमाणीकरणको लागि फेरि राष्ट्रपतिकोमा पठाइएको थियो ।

संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि १५ दिनअघि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपति भण्डारीले गएराति १२ बजेसम्म पनि यसबारेमा कुनै प्रतिक्रिया जनाउनुभएन ।

यसको मतलव उहाँले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको जानकारहरू बताउँछन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि यसबारे समर्थन र विरोधमा विभिन्न टिप्पणी भइरहेका छन् । संविधानविद् डा. भिमार्जुन आचार्यले अबको प्रक्रियाबारे संविधानमा कुनै प्रावधान नराखिएको बताउनुभयो । उहाँका अनुसार अब सरकारले राष्ट्रपति विरुद्ध कानुनी उपचार खोज्न सक्नेछ । 

तपाईको प्रतिक्रिया