00:00:00
राष्ट्रिय

आज तीजको दर खाने दिन

सोमबार भदौ १३, २०७९/ Monday 08-29-22

भदौ १३, काठमाण्डौ 
आज हरितालिका तीजको अघिल्लो दिन, बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ ।

आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाइ भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।

महिलाहरुले तीजमा वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट पोख्ने गरेका छन् । जन्मघरबाट कर्मघरमा गइ बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले गितमार्फत पोख्ने गरेका छन् ।

तर, पछिल्ला वर्षहरुमा तीजका नाममा तडकभडक बढेको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवम् पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  संस्कृतिविद् राजेन्द्र कुमार आचार्य  बताउनुहुन्छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवम् समाजशास्त्रीहरुले जोड दिएका छन् ।

आज  दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । भोलि तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन पर्सि गणेश भगवानको पूजा र पञ्चमीका दिन १६ गते स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तपाईको प्रतिक्रिया