00:00:00
राष्ट्रिय

सार्वजनिक पदधारण गरेको व्यक्तिले दलको सदस्यता लिए कारबाही

सोमबार श्रावण १६, २०७९/ Monday 08-01-22


साउन १६, काठमाडौं
निर्वाचन आयोगले पार्टी सदस्यहरुको विवरण चुस्तदुरुस्त र अद्यावधिक राख्न दलहरुलाई निर्देशन दिएको छ । आयोगले विज्ञप्ति निकालेर बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीहरु तथा संविधान र कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति दलको सदस्य रहेको भए कारबाही गर्न समेत निर्देशन दिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक पदधारण गरेका व्यक्तिले राजनीतिक दलको सदस्यता लिएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ। आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला व्यक्ति राजनीतिक दलमा सदस्य हुन नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराउनुभएको हो ।
 
आयोगले राजनीतिक दलहरुलाई सदस्यता वितरण गर्दा राजनीतिक दल सम्बन्धी ऐनको पूर्ण रुपले पालना गर्न गराउन र यसरी वितरण गरिएको सदस्यतासम्बन्धी विवरण निर्वाचन आयोगबाट माग गरिएको बेला उपलब्ध गराउन सक्ने गरी अद्यावधिक राख्न भनेको छ ।  

आयोगले राजनीतिक दल सम्बन्धी ऐनअनुसार १८ वर्ष उमेर पूरा नभएको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय पाएको कोही पनि व्यक्ति दलको सदस्य हुन मिल्दैन भनेको छ ।

यस्तै, नेपाल सरकार, प्रदेश सरकार वा पालिकाको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी तथा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिसमेत दलको सदस्य रहन नमिल्ने व्यवस्था छ ।


 

तपाईको प्रतिक्रिया