साउन ४, काठमाडौं
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आज सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधयेक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको “विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलोसंशोधन) विधयेक, २०७६, र “महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ पारित गर्नको लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
यस्तै दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित गर्नको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया