आज असार १५ ः राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन
असार १५, काठमाण्डौ
आज असार १५, राष्ट्रिय धान दिवस । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाइदैछ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ का दिन दहीचिउराखाने संस्कृति रहि आएको छ । दहीच्युराले शरीरमा शीतलता तथा शक्ति प्राप्त हुन्छ । आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन् ।
असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेकाले पनि आज दहीचिउराखाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरेका छन् । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।
नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्पादन घटे घट्छ । तर किसानले बर्सेनि मलको समस्या भोग्दै आएका छन् ।
तपाईको प्रतिक्रिया