पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरुद्ध
असार १५, पाल्पा
गए रातिदेखि परेको अविरल वर्षाले सिद्धार्थ राजमार्गका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । पहिरो खस्दा पहाडी जिल्ला जोड्ने सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकमा सवारी साधन सञ्चालन हुन सकेको छैन ।
रातिदेखि पाल्पा, गुल्मी, स्याङ्जालगायतका क्षेत्रमा अबिरल पानी परिरहेकाले सबै स्थानको क्षतिको विवरण पाउन नसकेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा र स्याङ्जाका विभिन्न स्थानमा पहिरो खसेर सवारी साधन चल्न सकेका छैनन् ।
पाल्पाको तानसेन–बुटवल सडक खण्डअन्तर्गत गौडेपुल, कालीमाटी, चर्चरे, हिउँदेखोला, २४ माइल, सिद्धबाबा क्षेत्रमा बढी पहिरो खसेर सडक अवरुद्ध भएको दोभान प्रहरीले जनाएको छ । अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गको ठाउँठाउँमा पहिरो खसेको छ ।
दोभान प्रहरीकाअनुसार ठूलो वर्षा भइरहेकाले पहिरो गएको स्थानमा जान सकिएको छैन । ठूलो पानी परेकाले पहिरो पन्छाउन केही समय लाग्ने छ । सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् ।
तपाईको प्रतिक्रिया