स्थानिय स्तरमा हुने प्रतियोगिताले राष्ट्रियस्तरको खेलाडी उत्पादनमा योगदान पुर्याउने भुर्तेलको विश्वास
तिलोत्तमामा । रुपन्देहीको तिलोत्तमामा सर्वोत्तम टिपिएल २०७८ प्रतियोगिताको शुक्रबार एक समारोहकाबीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहमा समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले राष्ट्रकै नमूना नगरपालिकामा तिलोत्तमा प्रिमियर लिगको चौथो संस्करणमा संचालन हुनु गौरवको विषय भएको बताए । भुर्तेलले स्थानिय स्तरमा हुने यस्ता प्रतियोगिताले राष्ट्रियस्तरको खेलाडी उत्पादनमा योगदान दिने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सर्वोत्तम सिमेन्टका रिजनल सेल्स म्यानेजर रमेश ढकाल, तिलोत्तमा खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङ, अध्यक्ष गोबिन्द भुषाल, क्यान प्रदेशका सचिव सन्जय गुरुङ, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, राष्ट्रिय कोच वसन्त शाही, समितिका उपाध्यक्ष राजेन्द्र केसी, सहसचिव मिलन भण्डारीले स्थानिय खेलाडीहरुलाई राष्ट्रियस्तरमा जोड्ने रुपमा प्रतियोगिता महत्वपूर्ण भएको बताए ।
शुक्रबारको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय गोल्डस विजयी भएको छ । ज्ञानोदयले भैरहवा–११ माथि १७ रनको जित निकालेको हो । टस जितेर ब्याटिङ गर्न उत्रेको ज्ञानोदयका ब्याटसम्यानहरुले १९।६ ओभरमा १ सय २५ रनको योगफल तयार गरेको थियो । ज्ञानोदयका भिम सार्कीले ३८ र अमित श्रेष्ठले ३७ रनको योगदान दिएका थिए । खेलमा भैरहवाका अमृत गुरुङले ३ तथा योगेन्द्र कार्की र दुर्गेस कुर्मिले समान १–१ विकेट लिएका थिए ।
मध्यम लक्ष्य पछयाएको भैरहवा–११ का ब्याट्सम्यानहरु १७।५ ओभरमा १ सय ८ रनमा अलआउट भए । भैरहवाका सोनु तामाङले ३० तथा ओपनर सुसान्त थापाले २५ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन । ज्ञानोदयका जितेन्द्र यादवले ३ तथा प्रतिस जिसिले २ विकेट लिएका थिए। ज्ञानोदयका जितेन्द्र यादव म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
तपाईको प्रतिक्रिया