00:00:00
राष्ट्रिय

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि बस्दै

बुधबार फाल्गुण ११, २०७८/ Wednesday 02-23-22

काठमाण्डौ 
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि बस्दैछ । नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्न लागेको हो । काठमाण्डौमा बस्ने बैठक दुई दिनसम्म चल्ने बताइएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारीहरु सहभागी हुनेछन् भने भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलको  सहभागिता रहनेछ ।

बैठकमा सहसचिवस्तरीय समितिले एजेन्डा तय गर्ने बताईएको छ । नेपालका तर्फबाट सहसचिवस्तरीय कार्यदलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले नेतृत्व गर्दै हुनुहुन्छ । त्यस्तै भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सहसचिवले गर्दै हुनुहुन्छ । सचिवस्तरीय बैठक भने भोलि हुनेछ । 

बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ । कोरोनाका कारण प्रत्यक्ष रूपमा हुन नसकेको बैठक यसपालि भौतिक रूपमै हुन लागेको हो । 

हरेक छ महिनामा बस्ने प्रावधान रहेको यो बैठक २०७६ असोज २७ र २८ गते  भारतको बैंगलोरमा भर्चुअल रूपमासम्पन्न भएको थियो ।  

तपाईको प्रतिक्रिया