00:00:00
स्थानिय

सिद्धबाबा सुरुङमार्ग निर्माणका चिनियाँ कम्पनी छानियाे

७ अर्ब ३४ करोड लागत
बुधबार माघ २६, २०७८/ Wednesday 02-09-22

बुटवल २०७८ माघ २६

   बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि बुटवल-नारायणगढ सडक बिस्तारको काम गरिरहेको चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ ले नै सिद्धबाबा सुरुङमार्ग निर्माणकाे ठेक्का पाएकाे छ ।

सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेण्डर आह्वान भएको थियो । सडक विभागका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ । यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिष्पर्धा गरेका चार कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो ।

 बुटवल–नारायणगढ सडक बिस्तारको काम भने निकै सुस्त निर्माण गरिरहेको यो कम्पनीले काठमाडौं–तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको कामको पनि जिम्मा पाएको छ ।

सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ । तर, अझै सडक विभागले ठेक्का स्वीकृत गर्ने आशयपत्र जारी गर्न भने बाँकी नै रहेको छ ।

केपी ओली नेतृत्वका सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७७ मंसिर १ गते सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषदबाट निर्णय गराएका थिए । सडक विभागले गत जेठ ९ गते ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडिसी) ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आहृवान भएको थियो । यो सुरुङमार्ग १.१२६ किलोमिटर लामो हुनेछ । सुरुङमार्ग सुरु हुनुभन्दा अगाडि र पछाडि तीन हजार ५०० मिटरको रकनेट (जाली) राखिनेछ । करिब पाँच वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।

 

तपाईको प्रतिक्रिया