00:00:00
राष्ट्रिय

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ

आइतबार पौष ११, २०७८/ Sunday 12-26-21

काठमाण्डाै २०७८ पौष ११

     ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।

ज्येष्ठ नागरिकलाई २०५१ साल पुस ११ गतेदेखि सामाजिक सुरक्षाका भत्ताको रुपमा एक सय रुपैयाँ प्रदान गर्न थालिएको थियो ।  

सरकारले भत्ताका साथै सार्वजनिक गाडीमा आरक्षण, भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सहुलियत र सुविधाको व्यवस्था गरेको छ । तर सेवासुविधाको प्रभावकारी कार्यान्वयन हुन नसकेको ज्येष्ठ नागरिकको गुनासो रहेको छ ।

नेपालमा कुल जनसङ्ख्याको नौ प्रतिशत ज्येष्ठ नागरिक छन् । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाने गरेको एजिङ नेपालले जनाएको छ ।

   दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले कानुनी व्यवस्था अनुसार ज्येष्ठ नागरिकलाई स्वास्थ्य, यातायात जस्ता सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने समेत बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया