रुपन्देही बुटवल
२०७८ पौष ८
‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ आजदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको सुरु भएको छ ।आयोजकका अनुसार उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
स्वदेशी तथा विदेशी गरी करिब ४ सय ५० स्टल रहने मेला सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने र करिब ५० करोड आर्थिक कारोबार हुने लक्ष्य रहेको आयोजकले जनाएको छ । मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो, निःशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन् ।
मेलाले उद्योगी र उपभोक्तालाई एकैथलोमा जमघट गराई उद्योगहरुलाई उपभोक्तामैत्री बनाउन पुलको काम गर्ने तथा रुपन्देही र लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन र नेपाली कला संस्कृति संरक्षणमा पनि टेवा पुर्याउने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताउनुभयो । मेलामा १५ वटा फरक फरक सेल्फी जोन, संख-घण्टसहितका पुजारी रहने गरी ११ थरि देवी देवताका मुर्ति पनि रहने संघका महासचिव पदम जीसीले जानकारी दिनुभयो । मेलामा आउने दर्शकलाई मास्क र स्यानिटाइजर प्रयोग अनिवार्य गरेर मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले भन्नुभयो ।
तपाईको प्रतिक्रिया