गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानको समय केही पर सर्ने भएको छ
काठमाण्डौ २०७८ पौष २
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानको समय केही पर सर्ने भएको छ । उडानको जिम्मा लिएको एरो थाई कम्पनीले मङ्सिर ६ गते सम्पर्कमा आएर आवश्यक प्रक्रियाका काम शुरु गर्ने जनाए पनि नागरिक उडड्यन प्राधिकरणलाई हालसम्म सम्पर्क नभएका उडान मिति पर सर्ने भएको हो ।
एरो थाई कम्पनीले क्यालिब्रेसन उडानका लागि काम शुरु गर्न आउने मितिको जानकारी दिए पनि सम्पर्कमा नआएको र थप जानकारी नभएका कारण ढिलाई हुने भएको प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । उडानका लागि आवशयक अन्य विद्युतीकरण तथा उपकरण जडानको काम धमाधम भई रहेकाले उडान गर्न अझै केही महिना लाग्ने कर्णले बताउनुभयो।
नवनिर्मित विमानस्थलमा जडित उपकरणहरुको सही प्रयोग भयो भएन अथवा सही जडान भयो भएन भनी जाँच गर्न र विमान अवतरणलाई सहज बनाउन यो उडान गर्ने गरिन्छ । त्यसपछि मात्र परीक्षण उडान गरेर नियमित उडान गर्नु पर्ने प्राधिकरणले जनाएको छ । करिब ३१ अर्ब लागतमा निर्माण भएको विमानस्थलको हाल ९८ प्रतिशत भौतिक प्रगति भई सकेको छ भने विमास्थलको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता सहित आर्थिक वर्ष २०७२/०७३ मा शुरु भएको थियो ।
यो विमानस्थल सञ्चालनसँगै अन्तर्राष्ट्रिय उडान भर्न जहाज कम्पनीहरुलाई सहज हुने छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्
तपाईको प्रतिक्रिया