लुम्बिनीमा संविधान दिवस : प्रमुख विपक्षी एमालेलाई निम्तो नै दिइएन
बुटवल २०७८ असोज ३
लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको विशेष समारोहमा नेकपा एमाले उपस्थित भएन । प्रमुख विपक्षी एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा गरिएको संविधान दिवस मूल समारोहमा एमाले उपस्थित भएन।
यस्तै सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका तीनै जना मन्त्रीहरु पनि संविधान दिवस नमनाउने पार्टीको नीति अनुसार अनुपस्थित रहेको थियो ।प्रमुख विपक्षी दल एमालेका सांसद एवं पूर्वमन्त्री वैजनाथ चौधरीले ‘संविधान दिवस जस्तो साझा कार्यक्रममा प्रमुख विपक्षी दललाई खबरै छैन, कुनै म्यासेज नै छैन,‘बरु प्रदेश प्रमुखले ४ गते दिवा भोजमा बोलाउनुभएको छ, त्यहाँ हाम्रो दलबाट साथीहरु जानुहुन्छ ।’ भन्नुभएको थियो। समारोहमा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीको पनि उपस्थिति निकै न्यून थियो ।
जनता समाजवादी पार्टी संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सहषराम यादवले वर्तमान संविधान पूर्ण नभएको र महिला, मधेशी, आदिवासी जनजाति र दलितको अधिकार स्थापित नभएकाले संविधान दिवस नमनाउने निर्णय गरिएको बताउनुभयो। ‘संविधान अपूर्ण छ, राज्यको पुनर्संरचना बेठीक छ, शासकीय स्वरुप र निर्वाचिन प्रणाली पनि बेठीक छन्,यी मुद्दा सम्बोधन भएपछि मात्रै सबै नेपालीले संविधान दिवस मनाउने अवस्था आउने बताउनुभयो।
एमाले नेतृत्वको सरकार हुदा विभिन्न रचनात्मक कार्यक्रमसहित सिंगो प्रदेशको प्रतिनिधित्व गराई भव्य रुपमा मनाइने गरिए पनि यो सरकारले संविधान दिवस समेत गतिलो ढंगले मनाउन चुकेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो।
संसदीय मामिला पत्रकार समाज लुम्बिनीका महासचिव सीपी खनालले सरकारको नेतृत्व गरेको माओवादी केन्द्र, मुख्यमन्त्री स्वयं र मुख्यमन्त्रीको सचिवालयको कार्य सम्पादन फितलो हुँदा संविधान दिवस खल्लो हुन पुगेको टिप्पणी गर्नुभएको थियो।
मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको पूर्ण पालना, संरक्षण र सम्वद्र्धन अनिवार्य शर्त भएको बताउनुभएको छ । संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै केसीले संविधान कार्यान्वयनमा चुनौती देखिएको स्वीकार्दै पूर्ण पालनामा जोड दिनुभएको थियो। केसीले ‘संविधान जारी भएको ६ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनामा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा अगाडि बढिरहेको बताउदै ‘संविधानको पूर्ण पालना र संवर्धनका लागि सबै प्रदेशबासी एवं नेपालीहरुमा आग्रह पनि गर्नुभएको छ ।’
तपाईको प्रतिक्रिया