काठमाण्डौ २०७८ भदौ २१
गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन गरेर जिल्लामा भएका घटनाबारे जानकारी लिनुभएको छ । खाँणले निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेकाहरूलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न पनि निर्देशन दिनुभएको छ।
गृहमन्त्री खाँणले रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरी रातभर लगातार भएको वर्षाका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिनुभयो। त्यस्तै मन्त्री खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफोन गरी रातभरको वर्षापछिको अवस्थाबारे जानकारी लिनुभएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर गृहमन्त्री खाँणले नख्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिनुभएको थियो। कारागारमा आइतबार अपरान्ह चौकीदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि खाँणले त्यसबारे प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिनुभएको हो ।
मन्त्री खाँणले लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको असरबारे कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग पनि जानकारी लिनुभएको छ ।खाँणले प्रजिअहरुबाट जिल्लामा रहेको अवस्थाबारे पनि जानकारी लिनुभयो ।
तपाईको प्रतिक्रिया